सुरक्षा मजबुत बनाउन गृहमन्त्रीको निर्देशन

Advertisement

चितवनः गृहमन्त्री रामबहादुर थापाले देश भित्र र बाहिरका शत्रुहरु अस्थिरता पैदा गर्ने तयारीमा रहेको भन्दै सुरक्षालाई मजबुत बनाउन निर्देशन दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय, चितवनको निरीक्षणपछि आज बिहान निर्देशन दिँदै उनले देशलाई हिजोकै अस्थिरतातर्फ फर्काउने दाउमा केही लागिपरेको बताए । उनले सुरक्षालाई बलियो बनाउँदै त्यसलाई रोक्नु आवश्यक रहेको बताए ।

जनप्रतिनिधिलाई पत्र पठाउने, कारबाही गर्ने, चन्दा उठाउने, ठाउँठाउँमा विस्फोट गराउनेजस्ता गतिविधि भइरहेको भन्दै उनले त्यस्ता गतिविधि तत्काल रोकिनुपर्ने बताए । अपराधी लुक्ने ठाउँका रुपमा चितवन विकास हुँदै गएको भन्दै उनले जति विकास हुन्छ त्यतिनै चुनौती र अपराध थपिँदै जाने कुरा बताए ।

लागूऔषध दुव्र्यसनी, तस्करी र कारोबारी बढ्दै गएको भन्दै त्यसलाई नियन्त्रण गर्न पनि उनले निर्देशन दिए । मन्त्री थापाले लागूऔषधले घरघरमा विकृति बढाएकाले यो अपराध नियन्त्रणमा विशेष कार्ययोजना बनाउन जरुरी रहेको बताए ।

प्रहरी संगठनमा भौतिक पूर्वाधार, उच्च प्रविधिलगायतको अभावका बीच पनि संगठनले आफ्नो छवि उच्च राखेर अपराध नियन्त्रणमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै यसलाई अझ सशक्त बनाएर अघि बढ्नुपर्ने बताए ।

सो अवसरमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले पर्याप्त मात्रामा जनशक्ति नहुँदा शान्ति सुरक्षा कायम गर्न कठिनाइ भएको बताए ।

Advertisement

Advertisement

Advertisement