भारतीय कुखुरा र अण्डा अवैध रुपमा नेपाल भित्रिँदै

Advertisement

लहानः सरकारले भारतीय बजारबाट कुखुुरा र पक्षीजन्य पदार्थको आयातमा प्रतिबन्ध लगाए पनि सिरहाका विभिन्न बजारमा खुलेआम बिक्री वितरण भइरहेको छ ।

भारतमा बर्डफ्लु देखापरेपछि सरकारले भारतबाट कुखुरा र अण्डालगायत पक्षीजन्य वस्तुको आयातमा रोक लगाएको हो । भारतीय सीमासँग जोडिएको सिरहाको विभिन्न नाकाबाट सेतो अण्डा र कुखुरा भित्रिने गरेको छ ।

सीमावर्ती क्षेत्रमा बर्डफ्लुको उच्च जोखिम रहेको छ । भारतीय सीमासँग जोडिएको सिरहाको भगवानपुर, माडर, बरियारपट्टि, ठाडी, जिझौललगायत बजारमा सेतो अण्डा खुलेआम बिक्री वितरण भइरहेको स्थानीयवासी बताउँछन् । सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीकै मिलेमतोमा बरियारपट्टि, झाझपट्टि, माडर, ठाडी, कुसण्डीलगायत नाकाबाट भारतीय कुखुरा र अण्डा तस्करी हुने गरेको छ ।

भारतीय कुखुराको मासु प्रतिकिलो ५० रुपियाँदेखि सय रुपियाँसम्म सस्तो पर्छ । झाझपट्टि नाकाबाट दैनिक १० देखि १५ भ्यान भारतीय कुखुरा तस्करी भएर लहान, गोलबजारलगायत बजारमा पुग्ने गरेको कुसण्डीका रामप्रसाद यादव बताउछन् । उनले पहिले अँध्यारोमा तस्करी हुन्थ्यो तर अहिले दिउँसै हुन थालेको बताए ।

कुखुरा तस्करी गर्न साइकल, मोटरसाइकल र चारपाङ्ग्रे भ्यानसमेत प्रयोग हुने गरेको स्थानीयवासी बताउँछन् । प्रहरीले गत फागुन १७ गते लगठी गोठ नाकाबाट जिपसहित आठ लाख ५० हजार रुपियाँ बराबरको कुखुरासहित तस्करलाई पक्राउ गरिएको थियो ।

माडरस्थित पशु क्वारेन्टाइन कार्यालयका प्रमुख चन्द्रकिशोर यादव भारतीय कुखुरा र अण्डाको तस्करी भइरहेको स्वीकार्छन् । उनले कुखुरा र अण्डाको तस्करी रोक्न सम्बन्धित निकायले आवश्यक रणनीति बनाएर अघि बढ्नुपर्ने बताउछन् ।

Advertisement

Advertisement

Advertisement