नक्कली सुन देखाई २८ लाख ठगी गर्ने पक्राउ

Advertisement

काठमाडौं: महानगरीय प्रहरी परिसर काठमाडौंले नक्कली सुन देखाई ठगी गर्ने दुईजनालाई पक्राउ गरेको छ । परिसरअन्तर्गत रहेको महानगरीय प्रहरी वृत्त, स्वयम्भूले सुनजस्तो धातुलाई सुन भनी २८ लाख ६० हजार रुपियाँ ठगी गर्ने रामेछापका अजय तामाङ र सोही ठाउँका विष्णु मोक्तानलाई बुधबार पक्राउ गरेको हो ।

परिसरले बिहीबार पत्रकार सम्मेलन गरी सुनजस्तो देखिने धातुलाई सुन भनी ठगी गरेको बताएको हो । परिसरका प्रमुख विश्वराज पोखरेलले पुस २३ गते भक्तपुर सूर्यविनायकका राजेन्द्र थापालाई नागार्जुन सेतो गुम्बा जाने बाटोमा २८ लाख ६० हजार रुपियाँमा ठगी गरी फरार भएको अनुसन्धानमा खुल्न आएको जानकारी दिए ।

यस्तै, विभिन्न कम्पनीका मोबाइल र ल्यापटप चोरी गरी फरार गिरोहलाई बुधबार पक्राउ गरेको छ । परिसरअन्तर्गतको महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले ३३ थान मोबाइल, दुई थान आइफोन प्याड, टेलिभिजन दुई थान, डिजिटल क्यामरा दुई थान, नेपाली रुपियाँ ४३ हजार ५००, भारतीय रुपियाँ दुई हजार र पाँच थान ल्यापटपसहित काठमाडौँका दीपेश श्रेष्ठ र सिन्धुपाल्चोकका सुवास खड्कालाई पक्राउ गरेको हो ।

उनीहरुलाई काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको परिसरका प्रमुख पोखरेलले बताए । यसैगरी, बौद्ध वृत्तले नै सामाजिक सञ्जालमार्फत चिठृा परेयो भन्दै एक लाख ४५ हजार ८०० रुपियाँ ठगी गर्ने चितवनका अभिषेक गौतम र राम पौडेललाई बुधबार नै पक्राउ गरेको छ । उनीहरुलाई काठमाडौं जिल्ला अदालतबाट चार दिन म्याद थप गरी अनुसन्धान भइरहेको परिसरले जनाएको छ ।

ठगीमा संलग्न व्यक्तिलाई मुलुकी ऐनको ठगीको महलबमोजिम ठगी लिएको बिगोबमोजिम जरिवाना र पाँच वर्ष कैद हुने व्यवस्था रहेको छ ।

Advertisement

Advertisement

Advertisement