क्रिकेट रंगशाला निर्माण गर्न धुर्मुसले छाने गोदावरीको जग्गा

Advertisement

काठमाडौंः अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गर्ने बताएका हास्य कलाकार धुर्मुस सुन्तलीले ललितपुरको गोदावारीमा रहेको जग्गामा क्रिकेट रंगशाला बनाउने भएका छन् । उक्त स्थान सबै हिसाबले उपयुक्त रहेकाले धुर्मुस सुन्तली फाउण्डेसनले गोदावरीको जग्गा पक्का गरेको हो ।

धुर्मुस सुन्तलीले गोदावरीमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउनलाई फाउण्डेसनको प्राविधिक टोलीले खेलकुद मन्त्रालयमा औपचारिक प्रस्ताव गरेको छ । धुर्मुसले क्रिकेट रंगशाला बनाउनेभन्दै देशका विभिन्न स्थानमा उपयुक्त जग्गाको खोजी गर्दै हिडेको थियो ।

फाउण्डेसनले उपत्यकाका कीर्तिपुर, मुलपानी, चोभारका साथै पोखरा, चितवन र भैरहवा लगायतका ठाँउमा पुगेर क्रिकेट रंगशाला निर्माणलाई उपयुक्त जग्गाको अवलोकन गरेपछि गोदावारीमा फाइनल गरेको हो । अहिलेसम्म अवलोकन गरिएकामध्ये गोदावारीको एक सय २८ रोपनी जग्गा उत्कृष्ट रहेको धुर्मुसले बताए ।

फाउण्डेसनको प्राविधिक टोलीले गोदावारी पर्यटकीय स्थल पनि भएकाले सबै तरिकामा उक्त जग्गा उत्कृष्ट रहेको बताएको छ । क्रिकेट रंगशाला निर्माणको लागि उपयुक्त ठहरीएको जग्गा कृषि मन्त्रालयको मातहातमा हुन सक्ने सम्भावना छ ।

फाउण्डेसनले रंगशाला निर्माण गर्न खेलकुद मन्त्रालयले कृषि मन्त्रालयलाई पत्र लेख्न पर्ने छ । रंगशाला निर्माण सुरु गरेको दुई वर्ष भित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य फाउण्डेसनले लिएको छ । अन्तर्राष्ट्रिय स्तरको रंगशालामा करिब ४० हजार दर्शकले एकै पटकमा खेल हेर्न सक्छन् ।

Advertisement

Advertisement

Advertisement