काठमाडौंः भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदी आगामी जेठ दोस्रो साता नेपाल आउने तयारी करिव निश्चित भएको छ । जेठ ११ गतेभित्र नेपाल आउने गरी भ्रमणको तयारी सुरु भएको छ । हिन्दुस्तान टाइम्सले मे ११ मा मोदीले नेपाल भ्रमण गर्ने जनाए पनि परराष्ट्र मन्त्रालयले भने मे २५ लाई भ्रमण मिति तोक्ने भइरहेको जनाएको समाचार अनलाइनखबर डटकमले प्रकाशित गरेको छ ।
भारतीय पक्षसँग भइरहेको सल्लाहअनुसार जेठ ११ वा त्यसकै एकदुई दिन अघिपछिलाई मोदीको नेपाल भ्रमणको तिथि तोकिनसक्ने संभावना रहेको परराष्ट्रका अधिकारीहरुले बताएका छन् । प्रधानमन्त्री केपी ओली भारत भ्रमणबाट फर्किएर चीन जान नपाउँदै मोदीले नेपाल भ्रमण गर्न लागेका हुन ।
प्रधानमन्त्री ओलीले चैत २३ देखि २५ सम्म भारतको भ्रमण गरेका थिए । भारतबाट फर्किएलगत्तै उनी चीन भ्रमणमा निस्किने भने पनि ओलीको भ्रमण अझै तय हुन सकेको छैन । ओलीको चीन भ्रमणको चाँजो पाँजो मिलाउन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली चीन गए पनि उनको भ्रमण अझै अनिश्चित छ ।
ओलीलाई चीनसँग नजिकिन नदिन भरमजदुर प्रयास गर्दै आएको भारतीय प्रधानमन्त्री मोदीले चिनियाँ रेल काठमाडौं आउनुअघि नै रक्सौलदेखि काठमाडौंसम्मको रेल निर्माणको आश्वासन दिएका छन् । यसअघि जनकपुर जान नपाएका मोदी यस पटक भने जाने संभावना रहेको छ ।
पहिलो पटक नेपाल आउँदा हाइहाई भए पनि अघोषित नाकाबन्दीका कारण आलोचित बन्न पुगेका मोदी पुनः नेपाललाई सहायताको प्याकेज घोषणा गरेर नेपालीको मन जित्ने रणनीतिमा छन् । ओलीको भारत भ्रमणमै गर्ने भनिए पनि हुन नसकेको अरुण तेस्रो जलविद्युत आयोजनाको शिलन्यास यस पटक मोदी नेपाल आउँदा गर्ने करिव निश्चित भएको छ ।