एमाले–माओवादी केन्द्र एकता नहोस भनेर दक्षिणकालीलाई कालो बोका भाकल गरियोः बडाल

Advertisement

काठमाडौंः एमाले नेता केशब बडालले एमाले–माओवादी केन्द्रबीचको एकता नहोस् भनेर केहीले दक्षिणकालीमा कालो बोका भाकल गरेको आरोप लगाएका छन् ।

शनिबार रिपोर्टर्स क्लबमा बडालले भने, ‘केही त एकता नहोस् भनेर दक्षिणकालीमा कालो बोका भाकल गर्ने काम समेत गरेका छन्, तर अब एकता हुँदैन कि भनेर आशंका नगर्न म यही मञ्चबाट आग्रह गर्दछु ।’

उनले पार्टी एकता भनेको कुरा केटाकेटीको खेलजस्तो नभएको तर्क गर्दै थपे, ‘पार्टीहरुबीच एकता हुनु र मोर्चा हुनु फरक कुरा हो ।’ स्थानीय तहदेखि केन्द्रसम्म एमाले र माओवादी केन्द्र हार्दिकताका साथ अघि बढेको उल्लेख गर्दै बडालले दुई पार्टीबीचको एकता छिट्टै हुने विश्वास दिलाए ।

फरक प्रसँगमा उनले वर्तमान प्रधानमन्त्री केपी ओलीको विरोध गर्नेहरु राम्रो गर्नेको विरोधी मात्रै भएको टिप्पणी गरे । उनले भने, ‘विगतमा कसैले पनि गर्न नसकेको काम प्रधानमन्त्री हुँदा केपी ओलीले गरेर देखाउनुभयो, मुलुकको राष्ट्रियता, अखण्डता, सार्वभौमिकता, स्वाधिनताको पक्षमा उहाँ दृढ हुनुहुन्थ्यो र अहिले पनि उहाँ दृढ नै हुनुहुन्छ, देशको स्वाभिमान उचो बनाउनुभयो ।’

भारत र चीन नेपालका लागि दुवै अनन्य मित्र रहेकोले दुवै देशसँग पारस्परिक रुपमा सम्बन्ध अघि बढाउन ओलीले महत्वपूर्ण भूमिका निर्वाह गरेको बडालको तर्क छ । उनले भने, ‘विगतमा नेपाल–भारतबीच कर्मचारीस्तरमा सम्बन्ध थियो । तर अहिले राजनीतिक तहबाटै सम्बन्ध अघि बढेको छ ।’

नेपालको राष्ट्रिय सुरक्षालाई ध्यानमा राखेर प्रधानमन्त्रीले राष्ट्रिय अनुसन्धान विभागलाई आफू केन्द्रित गरेका हुन भन्दै बडालले भने, ‘राष्ट्रिय सुरक्षा बलियो र दरो बनाउनको लागि, अक्षुण र अविछिन्न राख्नको लागि कार्यकारी प्रधानमन्त्रीले आफू मातहतमा अनुसन्धान विभाग राख्नु नौलो कुरो होइन् ।’

एमाले र माओवादी केन्द्रबीच एकताको लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त ५०÷५० को कुरा गर्नुभएको छ नि ? तपाईहरु के गर्नुहुन्छ भनेर सोधिएको अर्को प्रश्नमा नेता बडालले भने, ‘पार्टी एकता र मोर्चा एउटै कुरा होईन, एकता भनेको त पानी मिसाएजस्तो हुनुपर्छ।’

उनले महाधिवेशन अघि नै यो व्यक्ति अध्यक्ष भनेर ग्यारेण्टी गर्न नहुने धारण राखे । बडालले भने, ‘महाधिवेशनपछि लोकतान्त्रिक प्रक्रिया अनुसार जो पनि अध्यक्ष बन्न सक्छन्, प्रचण्ड योग्य र सक्षम हुनुहुन्छ, अहिले नै यो व्यक्तिलाई अध्यक्ष भनेर भन्नुहुँदैन ।’

ओली र प्रचण्ड दुवै नेताले ‘र्यांक एण्ड फाइल’ सबै कार्यकर्ता मेरा हुन भनेर अघि बढ्नुपर्नेमा उनको जोड थियो । बडालल एमाले र माओवादी केन्द्रबीच एकता ढिलाई हुँदा चिन्ता र खुशी मनाउने दुवै थरि मानिसहरु रहेको जनाए ।

Advertisement

Advertisement

Advertisement