राजविराजः सप्तरीको राजविराज विमानस्थल निर्माण कार्य सम्पन्न भएको छ । विमानस्थल निर्माणको काम उद्घाटन भएको छ दशकपछि नियमित उडान भर्ने तयारीमा रहेको छ ।
धावन मार्गमा कालोपत्रे नभएका कारण विगतमा धेरै पटक खुल्दै र बन्द हुदै आएको राजविराज विमानस्थलको रनवेमा कालोपत्रे गर्ने काम सम्पन्न भएको हो ।
करिब १६ महिनापछि विमानस्थलको धावनमार्ग कालोपत्रे सम्पन्न भई कम्पाउण्ड घेर्ने, कार्यालय मर्मत, रङरोगनका कामसमेत अन्तिम चरणमा पुगेको छ ।
काम सकिएलगत्तै नेपाल नागरिक उडड्यन प्राधिकरणले अनुगमन गरेपछि वैशाख मसान्तसम्ममा टेस्ट उडान गर्ने तयारी भइरहेको प्राधिकरणका प्रोजेक्ट इन्जिनियर राम एकवाल महतोले जानकारी दिए ।
विमान सेवा पुनः सुरु हुने खबरले स्थानीय र व्यवसायी पनि उत्साहित भएको सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष अरुणकुमार प्रधान बताउँछन् ।
नेपाल उडड्यनका रमण कान्छाराम देव एण्ड शेयर जेभी कन्स्ट्रक्सनले २०७३ असोज १६ गते विमानस्थलको ‘रन वे’ निर्माण गर्ने काम पाएको थियो ।
विमानस्थलको एक हजार पाँच सय मिटर लम्बाई र ३० मिटर चौडाई भएको धावनमार्गको कालोपत्रेका लागि ३० करोड ३० लाख ७४ हजार रुपियाँ सम्झौता गरिएको थियो ।
सम्झौता भए अनुसार २०७४ साल मंसिर भित्रमा विमानस्थलको निर्माण सक्नुपर्ने हो ।
तत्कालीन जिविस सप्तरीको कार्यालयमार्फत दुई करोडको लागतमा काँडे तारबाट विमानस्थल क्षेत्र घेराउ गर्ने कामसमेत सम्पन्न भइसकेको छ ।
विमानस्थलमा रहेको विभिन्न साना–तिना पानी निकासीका लागि कल्भर्ट, मूल ढोका अगाडि कालोपत्रे, रङरोगन तथा मर्मतका कामसमेत अन्तिम चरणमा पुगेको छ ।
विसं २०६५ सालमा परीक्षणकालका लागि तारा एयरले केही दिन विमान संचालन गरेको थियो । उक्त एयरले यात्रुको अभाव देखाउँदै विमान सेवा बन्द गरेपछि राजविराज विमानस्थलको धवनमार्ग गौचरनमा सीमित भएको थियो ।