भूकम्पपछिका तीन बर्षमा जम्मा तीन हजार विद्यालय पुनःनिर्माण, अझै पाँच हजार बढी बाँकी

Advertisement

काठमाडौंः सरकारले भूकम्प गएको तीन वर्षमा तीन हजार ६ सय १३ विद्यालय पुनःनिर्माण गरेको छ । आइतबार आयोजित एक कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण शिक्षा हेर्ने योजना निर्देशक इमनारायण श्रेष्ठले तीन वर्षमा भूकम्पले क्षतिग्रस्त करिब नौ हजार विद्यालयमध्ये तीन हजार ६१३ मात्र निर्माण गर्न सकिएको बताए ।

प्राधिकरणले सरकार, गैरसरकारी संस्था (गैसस), निर्माण व्यवसायी र विद्यालय व्यवस्थापन समितिको सहयोगमा ती विद्यालय निर्माण गरेको भए पनि अझै ठूलो संख्यामा विद्यालयहरु निर्माण हुन नसकेको हो ।

भूकम्पबाट क्षतिग्रस्त विद्यायल रु एक खर्ब तीन अर्बको लागतमा पुनःनिर्माण गरिएको हो । भूकम्पबाट क्षति पुगेका अझै करिब पाँच हजार ३०० विद्यालय पुनःनिर्माण हुन बाँकी छ ।

भूकम्प प्रभावित ३२ जिल्लाका सात हजार ९२३ विद्यालय क्षतिग्रस्त भएका थिए । तीमध्ये २१ हजार १६९ कक्षाकोठामा पूर्ण र १५ हजार ९९० कक्षाकोठामा आंशिक रुपमा क्षति पुगेका थियो । योजना निर्देशक श्रेष्ठका अनुसार एक हजार ७१९ विद्यालय निर्माणाधीन र ३२४ विद्यालय निर्माणको छनोट गरिएको छ ।

सरकारले विद्यालय व्यवस्थापन समिमिमार्फत दुई हजार ५६१, निर्माण व्यवसायीमार्फत दुई र गैरसरकारी संस्थामार्फत एक हजार ५० विद्यालय पुनःनिर्माण गरेको हो । निर्देशक श्रेष्ठले तोकिएको समयसीमाभित्र सम्पूर्ण विद्यालयको पुनःनिर्माण सम्भव नभएकाले समय बढाइएको बताए ।

उनले भूकम्प गएको एक वर्षसम्म नीतिगत काम गर्नुपर्ने भएकाले अर्को वर्षबाट मात्र काम भएको बताउनुभयो । पुनःनिर्माण प्राधिकरणका प्रवक्ता यमलाल भुसालले विसं २०७६ असारसम्म चार हजार ६०० विद्यालय पुनःनिर्माण गरिसक्ने बताए ।

शिक्षा मन्त्रालयका प्रवक्ता बैकुण्ठ अर्यालले पुनःनिर्माणाको काम सुस्त गतिमा भएको स्वीकार गरे । विद्यालयको जग्गा प्राप्ति दक्ष जनशक्ति नहँुदा समयमा नै विद्यालयको निर्माण गर्न नसकिएको उनले बताए ।

Advertisement

Advertisement

Advertisement