आइपीएलमा सन्दिपको डेब्यु सम्भावना कति ?

Advertisement

काठमाडौंः इण्डियन प्रिमियर लिग (आइपीएल)को फ्रेन्चाईज टोली दिल्ली डेयरडेभिल्सले २० लाख भारुमा बोली लगाएका नेपाली युवा क्रिकेटर सन्दिपको आइपीएल डेब्युको सम्भावना कमजोर बन्दै गएको छ ।

दिल्लीले प्रतियोगितामा लगातार हार ब्यहोर्दै गइरहेको बेलामा खेल्न बाँकी खेलमा उत्कृष्ट प्रदर्शन गर्न पर्ने दबाव दिल्लीलाई रहेकाले सन्दिपको डेब्यु सम्भावना कमजोर बन्दै गएको हो ।

सन्दिप बलिङमा मात्र उत्कृष्ट भएकाले उनलाई ब्याटिङ र फिल्डिङमा कमजोर छन् । साथै, उनले नेपालका लागि अहिलेसम्म अन्तर्राष्ट्रिय टी २० प्रतियोगिता खेलेका छैनन् । यस्तै दिल्लीमा सन्दिपभन्दा अनुभवी र नाम चलेका विदेशी खेलाडीको सूचि रहनु पनि उनलाई मैदानमा आउन समस्या परेको हो ।

स्पिनर सन्दिप आइपीएलमा स्थान बनाउने पहिलो नेपाली भएपनि दिल्लीले खेलेका पाँच खेलमध्ये चारमा हार ब्यहोर्दा पनि मैदान आउन पाएका छैनन् । छोटो उमेरमै उत्कृष्ट प्रदर्शन गर्दै अन्तर्राट्रिय स्तरमा आफुलाई परिचित गराउन सफल भएपछि दिल्लीले उनलाई बोली लगाएको थियो ।

कारणबस लगातार चार खेल मैदान बाहिर खेलेको दिल्लीले घरेलु मैदानमा खेलेको पहिलो खेलमा सन्दिपलाई उतार्ने सबैको आशा र उच्च सम्भावना थियो । तर, रोयल च्यालेन्जर्स ब्याङलोरविरुद्धको उक्त खेलमा पनि सन्दिप मैदान नआएपछि उनको डेब्यु सम्भावना टर्दै गएको देखिन्छ ।

लिग तालिकाको पुच्छरमा रहेको दिल्लीले आइपीएलमा उत्कृष्ट स्थानमा रहनको लागि पनि खेल्न बाँकि सबै खेलमा रणनीतिक र उत्कृष्ट प्रदर्शन गर्न पर्छ । प्रत्येक खेलमा चार जना मात्र विदेशी खेलाडीलाई मैदान उतार्न पाउने नियमले पनि सन्दिपलाई मैदान आउनबाट रोकेको छ ।

दिल्लीको विदेशी खेलाडीको सूचिमा ग्लेन म्याक्श्वेल, क्रिस मोरिस, जासन रोय, ड्यानियल क्रिस्टेन, ट्रेन्ट बोल्ट, कोलिन मुनरो र लिआम प्लुंकेट जस्ता नाम चलेका खेलाडी रहनाले पनि उनले अवसर नपाएका हुन् । प्रतियोगितामा अहिलेसम्म खेलेको खेलमा दिल्लीले एक मात्र जित निकालेको छ ।

लगातार एकपछि अर्को खेल हार्दै जानुमा पछिल्लो समय दिल्लीको बलिङलाई कमजोर माँनिदा भने सन्दिपको डेब्यु सम्भावनाको झिनो आस देखिन्छ । सन्दिप र कोलिन मुनरो बाहेक टोलीका अन्य सबै विदेशी खेलाडीले दिल्लीका लागि खेलिसकेका छन् । साथै, उनीहरुले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

Advertisement

Advertisement

Advertisement