सुरुङमार्गमार्फत प्रदेश ३ लाई छोटो बनाइने

Advertisement

हेटौंडाः प्रदेश तीनका प्रदेश प्रमुख अनुराधा कोइरालाले भ्रष्टाचार र विभेद अन्त्य प्रदेश सरकारको प्राथमिकता बन्नुपर्ने बताएकी छिन् ।

प्रदेश प्रमुख कोइरालाले पहिलो पटक प्रदेशसभा बैठकलाई मंगलबार सम्बोधन गर्दै भनिन्, ‘अशान्ति, दमन, भ्रष्टाचार, उत्पीडन र कुनै पनि प्रकारको विभेदको अन्त्य यो प्रदेशको परिचय बनोस् भन्ने विश्वास राख्दछु ।’

उनले प्रदेशसभा, सरकार र यसको अंगहरुबीच प्रदेशका समस्या र चुनौतीको सम्बोधन तथा सम्भावना र अवसरहरुको सदुपयोग गर्ने कार्यमा आपसी तालमेल मिलाउँदै अघि बढ्न सके ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने मुल नारालाई प्रदेशमा सजिलै स्थापित गर्न सकिने बताइन् ।

कोइरालाले भनिन, ‘आवश्यक कानून निर्माण, प्रदेश सरकारको संगठनात्मक एवं कर्मचारी ब्यवस्थान र नीति तथा कार्यक्रम तय गर्दै अघि जाने कुरा प्रदेश सरकारको उच्च प्राथमिकता रहेकाले छिटो प्रतिफल प्राप्त हुनेमा म विश्वस्त छु । यी समग्र विषयहरु प्रदेश सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटेर ल्याउनुमा प्रदेशसभाको उल्लेख्य भूमिका हुनेछ ।’

प्रदेशलाई सुरुङमार्गमार्फत छोटो दुरीको पहुँच, एक जिल्ला एक विशिष्टिकरण उत्पादन, प्राविधिक शिक्षाको स्थापना र विस्तार र नयाँ शहरहरुको अध्ययन, निर्माण र बिस्तार, जोखिममा रहेको बस्तीहरुको स्थानान्तरण, भूउपयोग नीति लागू गरी भूमिको व्यवस्थापनलगायतका कार्यक्रममार्फत अघि बढ्न प्रदेश सरकारले बढाएको तत्परता र दृढ संकल्पप्रति उनले खुशी व्यक्त गरिन् ।

कोइरालाले भनिन, ‘आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा जनअपेक्षाका धेरै विषय समेटिने नै छ । प्रदेश निर्माणमा सबै सरोकारवालाहरुलाई एक हुन पनि म आग्रह गर्दछु ।’

साथै, उनले भूकम्पपीडित सबै जनतालाई छानामुनि लैजाने कुरामा प्रदेश सरकारले उच्च प्राथमिकता दिएर काम गरिरहेको बताइन् । प्रदेश प्रमुख कोइरालाले सरकारले दिने राहत पनि ३० प्रतिशत पीडितले मात्र आंशिक रुपमा पाएका छन् भन्दै सबै पीडितलाई छानामुनी ल्याउन नसकिएको बताइन ।

उनले कुनै पनि बहानामा हिंसा, मुठभेड र अराजकतातर्फ सामाज धकेलिन नहुने भन्दै थपिन, ‘अब हाम्रो गौरवशाली इतिहास र परम्परा स्थापित गर्दै तीब्र गतिमा आर्थिक विकास, सामाजिक एवं मानवताको विकास यात्रामा अघि बढ्नुर्छ ।’
नेपाललाई पराधीन बनाउने सोचहरु कमजोर भएको र बिभाजित बनाउने शक्तिहरु किनारा लागेको भन्दै कोइरालाले समृद्धिको मार्गमा अघि बढ्दै गरेको स्पष्ट मार्ग चित्रहरु देखिन थालेको बताइन ।

प्रदेश सरकार आगामी आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रम ल्याउने तयारीमा जुटेको प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement