'कोही कोही (देउवा) भन्छन् ‘तानाशाहीको लक्षण देखिन थाल्यो’ तानाशाहीको लक्षण अझै देखिन्छ'

Advertisement

काठमाडौंः प्रधानमन्त्री केपी ओलीले सुशासनमा देखिएका बेथितिलाई अन्त्य गरेरै छाड्ने बताएका छन् । मदन भण्डारी स्मृति बाटिकाको मं‌गलबार उद्घाटन गर्दै ओलीले यसो भनेका हुन् ।

उनले भने, 'सरकार देश बनाउने संकल्पमा दृढ छ । भ्रष्टाचार हुन दिन्नौँ, सुशासन र पारदर्शिता कायम गर्छौं । बेथितिका अगाडि सरकार निहुरिँदैन । बेथितिलाई थितिमा ल्याएरै छोड्छौँ । विकास निर्माणको अभियानमा अब बाधा व्यवधान नगरौं ।'

प्रधानमन्त्री ओलीले मुलुकको आर्थिक समृद्धिका लागि कृषिको आधुनिकीकरण र उद्योग स्थापना गरी रोजगारी सिर्जना गर्नेतर्फ सरकारको ध्यान केन्द्रित भएको बताए ।

तानाशाही भएकै हो
प्रधानमन्त्री ओलीले कांग्रेसका नेताहरुले देशलाई अधिनायकवादतिर लगेको आरोप लगाइरहेका बेला स्पष्टिकरण दिन पनि भ्याए ।

उनले भने, 'कोही कोही भन्छन् ‘तानाशाहीको लक्षण देखिन थाल्यो ’ तानाशाहीको लक्षण अझै देखिन्छ, किनकि अब सडकहरु धुलो नउड्ने हुन्छन् । छिट्टै मेलम्चीको पानी आउँदैछ । आउँदो हिउँदमा ४५६ मेगावाटको माथिल्लो तामाकोशीको बिजुली थपिँदैछ । काठमाडौँमा मेट्रो रेल बन्छ । कतिपय त्यत्तिकै आत्तिएका छन् । यस्ता कुतर्कको पछि नलाग्नु होला ।'

ओलीले काठमाडौँ निजगढ फास्ट ट्राक पनि समयमै बनाइसक्ने बताए । उनले भने, ‘काठमाडौँ–निजगढ’ द्रुतमार्ग निर्धारित समयमै सम्पन्न गर्छौं । निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण अघि बढ्छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल चाँडो बनाउने गरी काम अघि बढाइनेछ ।'

प्रधानमन्त्री ओलीले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल, प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला, जननेता मदन भण्डारी, लौह पुरुष गणेशमान सिंह र पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीले राष्ट्र निर्माण र समाज परिवर्तनमा पुर्‍याएको बताए ।

उनले भने, 'मदन भण्डारी राष्ट्रको चिन्तक र जनताको प्रतिनिधिका रुपमा स्थापित नेता हुनुहुन्छ । उहाँको योगदानलाई राष्ट्रले भुल्न हुँदैन ।'

एमाले वरिष्ठ नेता माधव नेपालले राजनीतिक स्थायित्व भई मुलुक दीगो विकासको दिशामा अघि बढेको भन्दै यसमा कुनै ढिलासुस्ती र अलमल हुन नहुने बताए । रासस

Advertisement

Advertisement

Advertisement