चालु आवमा ५.८९ प्रतिशतको आर्थिक वृद्धिको अनुमान, प्रतिव्यक्ति आय हजार डलर पुग्यो

Advertisement

काठमाडौंः चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर पाँच दशमलव ८९ प्रतिशत हुने केन्द्रिय तथ्याङक विभागले अनुमान गरेको छ । बुधवार विभागले प्रतिवेदन सार्वजनिक गर्दै चालु आवमा पाँच प्रतिशतभन्दा माथिको वृद्धि भई अर्थतन्त्र करिब ३० खर्ब रुपियाँ पुग्ने तथ्याङक सार्वजनिक गरेको हो ।

सरकारले भने आर्थिक वर्षको बजेटमा सात दशमलव दुई प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको थियो । यस्तै नेपालीको प्रतिव्यक्ती आम्दानीमा सुधार आएर एक हजार डलर पुगेको विभागले जनाएको छ । ८६२ अमेरिकी डलरबाट बढेर चालु आर्थिक वर्षमा एक हजार डलर पुगेको हो ।

सरकारले आर्थिक वृद्धिको लक्ष्य मध्यावधि समीक्षालाई घटाएर छ प्रतिशतमा झारेको थियो । तर, विभागका अनुसार पाँच दशमलव ८९ प्रतिशत मात्र आर्थिक वृद्धि हुने भएको छ । अर्थमन्त्रालयले भने छ प्रतिशतको हाराहारीमा आर्थिक वृद्धि हुने बताएको थियो ।

तर, विश्व बैंकले नेपालको आर्थिक वृद्धि चार दशमलव छ प्रतिशत मात्र हुने बताएको थियो भने एसियाली विकास बैंकले चार दशमलव नौ प्रतिशतको वृद्धि रहने जनाएको थियो । यस्तै विभागले गत आर्थिक वर्षको वृद्धि दर सात दशमलव ३९ प्रतिशत पुगेको बताएको छ ।

चालु आवमा कृषिमा दुई दशमलव ८२ प्रतिशतको वृद्धि हुने र गैरकृषिको वृद्धि दर सात दशमलव १ प्रतिशतले बढेको छ ।

Advertisement

Advertisement

Advertisement