परमाणुअस्त्रमुक्त हुन 'किम' एकाएक तयार, दुई कोरियाली नेताबीचको वार्ताले नयाँ तरंग

Advertisement

गोयाङ (दक्षिण कोरिया)ः छ दशकभन्दा लामो समयदेखि अवरुद्ध दुई कोरियाका शीर्ष नेताहरुबीच भएको वार्ताले विश्वभर नयाँ सञ्चार ल्याएको छ । उत्तर कोरियाले वार्ताको हात बढाउँदै कोरियाली प्रयद्वीपलाई परमाणु अस्त्रमुक्त गर्ने बाचा गरेपछि त्यसले विश्वमा नयाँ तरँग सिर्जना गरेको हो ।

दुई कोरियाको सीमा क्षेत्रमा भएको ऐतिहासिक वार्तामा उत्तरका नेता किम जङ उन तथा दक्षिणका राष्ट्रपति मुन जे इन सहभागी थिए । दुवै नेताले कोरियाली प्रायद्वीपलाई परमाणु अस्त्रमुक्त गर्दै शान्ति कायम गर्न सहमत भएका थिए ।

दुई कोरियाबीचको युद्ध सन् १९५३ मा युद्धविराममा टुंगिएपछि यस किसिमको शीर्षस्त वार्ता हुन सकेको थिएन । दुवै नेताले कोरियाली युद्धलाई स्थायी रूपमा अन्त्य गर्दै यसै बर्ष शान्ति सन्धि गर्ने तहसम्म पुगेका छन् । केही महिनाअघिसम्म उत्तर कोरिया र अमेरिकाको चेतावनीपूर्ण वाकयुद्ध र उत्तरको लगातारको आणविक तथा क्षेपास्त्र परीक्षणले युद्धको संकेत गरिरहेको बेला उत्तर कोरियाका प्रमुख एकाएक यूटर्न भएका हुन ।

चिनियाँ राष्ट्रपतिसँग भएको गोप्य वार्तापछि उत्तर कोरियाली नेता किम सशस्त्रीकरणको बाटो छोडेर शान्ति र वार्ताको बाटो समाउन तयार भएका हुन । किम शान्तिमार्गमा आउन तयार भएपछि मात्रै चीनले उनीसँगको भेटलाई सार्वजनिक गरेको थियो । सँगै, किमले नै दक्षिणलाई वार्ताको प्रस्ताव राख्दै दक्षिणकै भूमिमा वार्ता गर्न पुगे ।

शुक्रबार दुई कोरियाका शीर्ष नेताबीच भएको शिखर बैठकको अमेरिकासहित विभिन्न देशले स्वागत गरेका छन्। अमेरिकाले शिखर बैठकले दुई कोरियाली जनताको हितमा निर्णय गर्ने अपेक्षा गरिएको जनाएको छ।

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनको भेटवार्ता ‘ऐतिहासिक र सुखद्’ भनेको भनेको छ ।

अस्ट्रेलियाले पनि दुई कोरियाको भेटवार्तालाई निकै सकारात्मक सन्देशका रूपमा लिइएको बताएको छ । वार्तापछि बोल्दै किम जङ उनले दुई कोरियाले झगडा गर्नुपर्ने कुनै कारण नरहेको बताए । उनले दुवै देश एक हुनुपर्ने बताए ।

सार्वजनिक सम्बोधनमा किमले आफ्नो देशको अस्त्र विकासबारे केही नबोले पनि वार्ताका क्रममा कोरियाली प्रायद्वीपलाई परमाणु हतियार निःशस्त्रीकरण गर्ने प्रतिबद्धता जनाएको दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनले खुलासा गरे ।

दुवै नेताले एक आपसमा पटक पटक भेटवार्ता गर्ने र सम्बन्धलाई थप मजबुद बनाउँदै लैजाने प्रतिबद्धता पनि जनाएका छन । उनीहरूबीच दक्षिण कोरियाको पान्मुन्जोममा रहेको पिस हाउसमा शुक्रबार बिहानै झण्डै डेढ घण्टा वार्ता भएको थियो ।

औपचारिक वार्ताअघि किमलाई मुनले सैन्य प्रदर्शनी अगाडि अभिवादनसहित भव्य स्वागत गरेका थिए । स्थानीय समयानुसार शुक्रबार बिहान साढे नौ बजे दक्षिण कोरियाली भूमिमा उत्तर कोरियाली नेता किम पुगेका थिए।

बैठकस्थलमा प्रवेश गरेपछि आगन्तुक पुस्तिकामा उनले ‘शान्तिपूर्ण युगको प्रारम्भको बिन्दुमा एउटा नयाँ इतिहास सुरु भएको छ’, भनेर लेखेका थिए।

सन् १९५० देखि १९५३ सम्म भएको कोरिया युद्धपछि विभाजित भएका दुवै मुलुकका नागरिकहरु केहीलाई आफ्ना आफ्न्तहरु भेटन दिइए पनि धेरैले अझै भट्न पाएका छैनन् । यसबीचमा दक्षिणले आर्थिकरुपमा धेरै फड्को मारेको छ भने उत्तरको बारेमा विश्व अझै पनि अनविज्ञ छ ।

Advertisement

Advertisement

Advertisement