सुन तस्करीमा प्रहरी कनेक्शन टुट्दैः अगाडि छानविन समिति, पछाडि नवराज सिलवाल

Advertisement

काठमाडौंः सुन तस्करी प्रकरणमा एकपछि अर्को प्रहरी उच्च अधिकृतहरुकै संलग्नताको तथ्य खुल्दै गएको छ । छानविन समितिले यस सफलताको पछाडि दोषीहरुको बयानको आधार हो भन्दै आएको छ ।

तर, स्रोत भन्छन प्रहरी र सुन तस्करको जालो तोडन प्रहरीका पूर्व डिआइजी नवराज सिलवाल नै सक्रिय छन । उनले नै सहयोग गर्दै आएका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोमा रहँदा उनले चर्चित ३३ किलो सुन तस्करी प्रकरणको प्रारम्भिक छानविन प्रतिवेदन बाहिर ल्याएका थिए ।

छानविनकै क्रममा पटक पटक दुवईसमेत पुगेका सिलवाल प्रहरी प्रमुख हुन असफल भएपछि एमाले प्रवेश गरी साँसदको चुनावसमेत जित्न सफल भएका थिए । सिलवालकै सिफारिसमा ओलीले सुन तस्करीको छानविन गर्न विशेष समिति बनाएका थिए ।

प्रहरी संगठनमा रहँदा नै सुन तस्करीको कनेक्शन बुझेका सिलवालकै सल्लाह र निर्देशनमा छानविन अघि बढनुका साथै तस्करीमा संलग्न प्रहरीहरु पक्राउ पर्दै आएका छन । गृह मन्त्रालयकै एक अधिकारी भन्छन, सुन तस्करीको छानविनको विषयमा गृहमन्त्रीलाई दैनिक जानकारी दिने काम मात्रै हुन्छ । भित्रीरुपमा निर्देशन दिने काम सिलवाल र गृहसचिवले गर्छन । त्यो भन्दा माथि जाँदा प्रधानमन्त्री ओलीले गर्छन ।

प्रहरीमा संकलित रकम तलदेखि माथिसम्म बाँडफाँड गर्नुपर्ने सिस्टम बसालिएकोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कलेक्शन पनि उच्च तहका प्रहरीदेखि मन्त्रीसम्म पुग्दै आएको थियो । आक्कल झुक्कल पक्राउ पर्नेबाहेक प्रहरी, भन्सार कर्मचारी, तस्कर र नेतासम्मको नेक्ससमा विमानस्थलबाट सुन तस्करी हुँदै आएको स्रोत बताउँछ ।

अहिले पक्राउ परेका केही प्रहरी अधिकृतहरु सुन तस्करीमा संलग्नहरुको सानो अंश मात्रै हो । प्रहरीले निकै खोजी गरिरहेका ‘गोरे’ उपनामका चुडामणि उप्रेतीले विमानस्थलमा आउने प्रहरी अधिकृतदेखि नक्साल हेडक्वाटर गृह मन्त्रालय, भन्सारका कर्मचारीसम्मलाई मिलाउने काम गर्दै आएका थिए ।

मोरङ उर्लाबारीका गोरेले सुन तस्करीको जालो फैलाउन मन्त्रीदेखि सचिव र प्रहरीका अधिकृतहरुलाई नियमित भेटघाट गर्ने र कुरा मिलाउने काम गर्थे । गोरेसँग सबै प्रहरी अधिकृतदेखि कर्मचारी र नेताहरुको समेत नम्बर रहेको उनको डेराबाट फेला परेको डायरीबाट देखिएको छ । गोरे अहिले फरार छन् ।

फाइदा राम्रो हुने भएकाले त्रिभुवन विमानस्थलमा सुरुवा खोज्नेहरुले मोटो रकम बुझाउनुपर्ने र नियमितरुपमा उपल्लो तहलाई संकलित रकमको हिस्सा पुर्याउनुपर्ने पद्दतीको विकास गरिएको थियो । आफूले गरेको खर्च अशुल गर्न र आफ्नो बन्दोबस्त गर्न पनि विमानस्थल सरुवा हुने हरेकले तस्करसँग साँठगाँठ नगरी नहुने र नक्सालदेखि गृह प्रशासनसम्मले संगठित तस्करीमा मौन बस्दै आएको थियो ।

Advertisement

Advertisement

Advertisement