आध्यात्मिक पुँजीवाद देशको अर्थतन्त्रको आधार

Advertisement

झट्ट हेर्दा अध्यात्म र पुँजीवाद नमिल्दो अनौठो जस्तो लाग्न सक्छ । के साच्चै यी विषय आफैमा विपरित र अनौठा हुन त ? नेपाल जस्तो धार्मिक आध्त्यात्मिक पृष्ठभूमि बोकेको देशका लागि अध्यात्म आर्थिक वृद्धिको आधार बन्न सक्छ ? नेपालको तीब्रतम आर्थिक विकासका लागि मुख्य मुख्य आधारहरु के हुन ? अवश्य, अध्यात्म र पुँजीवादको अन्तरसम्बन्ध स्थापित हुने सम्भावनालाई नेपालको धार्मिक आध्यात्मिक पृष्ठभूमिले एकअर्कामा गाँसिदिन पुगेको छ । विश्वको अभ्यास विश्वका हरेक विकसित देश र विकासशील देशको विकासको आधार हेर्ने हो भने तिनीहरुले कुनै न कुनै एक वा केही विषयलाई आधारका रुपमा अघि बढाएको देखिन्छ । अमेरिकाले बौद्धिक इनोभेसन र हतियारको विकास गरि बिक्री गर्नेसहित औद्योगिक उत्पादनको निर्यातलाई आर्थिक उपार्जनको मुख्य आधार बनाएको छ । जापानले विद्युतीय उपकरणहरुदेखि औद्योगिक वस्तुहरुको उत्पादनमार्फत संसारभरबाट पुँजी आफूमा केन्द्रीत गर्न सफल रह्यो । अहिले चिनियाँ सस्तो सामानसामु जापानी सामान विक्न छोडेपछि जापानको अर्थतन्त्र क्रमशः ओरालोतर्फ धकेलिन पुगेको छ ।

Advertisement

विश्वको दोस्रो उदयमान आर्थिक शक्ति चीनले अर्थतन्त्र मजबुद बनाउन विभिन्न क्षेत्रमा चामत्कारिक रणनीतिहरु अपनाएको छ । खासगरी मास प्रडक्सनको नीति अपनाएर सस्ता औद्योगिक उत्पादनमार्फत सस्तो सामान खोज्ने उपभोक्तामा एकछत्र राज छर्न चीन सफल भएको छ । पछिल्लो समयमा पर्यटनमार्फत विश्वभरका पर्यटकलाई लोभ्याउन चीन सफल देखिएको छ । तिब्बत क्षेत्रमा विश्वभरबाट करोडौ पर्यटक पुग्दछन । यो उसको आम्दानीको मुख्य आधार बनेको छ ।
विकास मोडललाई हेर्ने हो भने लिक्वान युले विकास गरेको सिंगापुरको र महाथिर मोहम्मदले विकास गरेको मलेशियाको विकास मोडल संसारका लागि भिन्न विकासका मोडल हुन । आज यी देशमा लाखौं नेपाली रोजगारीका लागि आफनो श्रम बेचिरहेका छन् । यी देशहरुले स्वदेशी पुँजीको परिचालन र नियमको कडाईका साथ परिपालनबाट आर्थिक संवृद्धिको हब बन्न सफल भएको देखिन्छ ।
क्षेत्रफल र जनसंख्याका हिसावले सानो भएता पनि इजरायलको विकास मोडल अध्ययन गर्न लायक छ । नयाँ नयाँ प्रविधिको विकास इजरायलको आर्थिक आम्दानीको आधार हो । त्यसैगरी नयाँ नयाँ प्रविधिको हतियार बनाएर इजरायलले संसारभर बेच्ने गर्दछ । यसबाट उसले लाखौं डलर आम्दानी गर्दछ । उसको आधुनिक कृषि प्रणाली विश्वभर छक्क पार्ने खालको छ ।नेपालको अहिलेको अवस्था उसो भए अल्पविकासित देशको सुचीमा समावेश हाम्रो देश नेपाल विकासको आधार के हो ? कृषिप्रधान मुलुक भनिएता पनि दैनिक आवश्यक पर्ने तरकारीदेखि लसुन प्याजसम्म सबै विदेशबाट आयात भइरहेका छन् । विगतमा आत्मनिर्भर रहेको खाद्यान्न, तरकारी, मांसजन्य उत्पादन जस्ता अति नै आधारभूत क्षेत्रमा देश परनिर्भर बनिसकेको छ । अहिले हाम्रा छिमेकी देश भारत र चीनमा कुनै पनि अस्वभाविक अवस्था उत्पन्न भएर त्यहाँबाट सरसामान नेपाल आउन नमिल्ने अवस्था आएमा नेपाली भोकमरीले मर्ने अवस्था प्रष्ट देखिन्छ । खाली विदेशमा अति नै दुःखले श्रम बेचेर कमाएको रेमिटेन्सले देशको अर्थतन्त्र चलिरहेको छ ।चालु आर्थिक बर्षमा निर्यातको हिस्सा कुल गाह्रस्थ उत्पादनमा जम्मा आठ प्रतिशतमा खुम्चने छ भने जम्मा दुई खर्ब ६४ अर्ब रुपियाँको मात्र निर्यात नेपालले गर्नेछ । तर, चालु आबमा १३ खर्ब ६९ अर्ब रुपियाँको आयात हुने तथ्यांक केन्द्रीय तथ्यांक विभागले हालै सार्वजनिक गरेको छ । देशको कुल बजेटभन्दा बढिको आयात एक वर्षभित्र हुने तथ्यांकले देखाएको छ । यस्तो भयावह स्थितिमा देशको अर्थतन्त्र यसरी नै चलिरहन सक्छ ?यो गम्भीर प्रश्न यतिबेला नेपाली अर्थतन्त्रसामु उत्पन्न भएको छ । उसो भए देशको अर्थतन्त्र विकासका लागि आधारहरु के हुन सक्छन ? इजरायलको जस्तो हतियार नेपालले बनाएर बेच्न सक्छ ? भारत, चीन, इजरायल, न्युजिल्याण्ड जस्ता देशले अपनाएको व्यवस्थित कृषि फार्म यो देशमा सम्भव छ ? टुक्रा टुक्रा घडेरीको चिरा चिराले खण्डिकरण गरेको भूमिमा व्यवस्थित कृषि कर्म गर्न यहाँ अब सम्भव देखिंदैन । साथै, उर्जाको अभाव, स्वदेशमा बसेर सानो भए पनि काम गर्नुपर्छ भन्ने भावनाको अभाव, बढ्दो विदेशीने प्रवृत्ति, भ्रष्टाचार आदी कारण ठूला ठूला उद्योग स्थापना हुने सम्भावना छैन । नेपालमा स्थापित हुने उद्योगले उत्पादन गर्ने समानको उत्पादन लागत बढि हुने हुँदा त्यसले भारत र चीन जस्ता देशमा उत्पादित सामानसँग प्रतिष्पर्धा गर्न नसकी बिक्री हुने छैनन । त्यति मात्र होइन, भएका उद्योग धन्दा समेत धमाधम बन्द भएकाले देशको औद्योगिक क्षेत्रको कार्यक्षमता नराम्रो गरि क्षतविक्षत हुन पुगेको छविश्वलाई शान्ति बेच्नुपर्छ नेपालले हो, आज विश्व २१ शताब्दीको विकसित युगमा लम्किरहेको छ । जति यसको गति बढि रहेको छ, त्यत्ति नै शान्तिका लागि विश्वका धेरै मानिस तड्पिन पुगेका छन् । खासगरी पश्चिमा देशमा भएको भौतिक विकासले त्यहाँका नागरिकमा तिब्रतम तनाब उत्पन्न गराई दिएको छ । प्राकृतिक जीवन पद्धतीलाई त्यहाँको भौतिक चमक धमकले अशान्त बनाइदिएको छ । त्यसैले त्यहाँका नागरिकहरु प्राकृतिक संगतको खोजीमा भौतारिन पुगेका छन् ।यस्तो अवस्थामा नेपालले उनीहरुलाई आश्रय दिएर रिफ्रेस बनाउनु पर्दछ । वैदिक सनातन संस्कृतिको आधार, बृद्ध जन्मेको देश, पशुपतिनाथ, बौद्धनाथ, लुम्बिनी, मुक्तिनाथ, जनकपुरधाम, स्वयम्भु जस्ता चर्चित स्थलहरु मात्र होइन हाम्रा देशैभर छरिएर रहेका मन्दिर, गुम्बाहरु शान्तिका तीर्थस्थलहरु हुन । साथै, अझै पनि प्रकृतिको सुभाष छरिरहेका नदिनाला, जंगल, हिमाल, पहाड शान्ति शितलता छर्ने ठाउँहरु हुन । त्यसैले, यी ठाउँहरुसम्म विदेशी पर्यटकलाई ल्याएर बसाएर उनीहरुलाई शान्ति प्रदान गरि देशले डलर कमाई गर्नु पर्दछ ।साथै, योग, ध्यान, जप, आध्यात्मिक संगीत, प्राकृतिक जीवन पद्धतिलाई समय अनुसार केही व्यवसायिकता थपेर त्यसबाट आम्दानी स्रोत सृजना गर्न सकिन्छ ।आध्यात्मिक पुँजीवाद अभियान हो, विश्वलाई शान्ति दिने र भौतिक विकास गरिसकेकाहरुबाट त्यसबापत डलर लिने सिधा–सिधा सिद्धान्त नै आध्यात्मिक पुँजीवादको अवधारणा हो । जसले जे चाहन्छ, त्यसबापत उसले पे गर्दछ । पेशागत जीवनमा त्यो स्वभाविक परिदृश्य हो । त्यसकारण सदियौंदेखि नेपालसँग रहेको धार्मिक आध्यात्मिक पुँजीलाई अब विश्व बजारमा बजारीकरण गरि बेच्ने बेला आएको छ । त्यसको मोडल नै हो – आध्यात्मिक पुँजीवाद ।भुटानको कुल ग्राहस्थ खुशी अर्थतन्त्र कुनै दिन नेपालभन्दा धेरै तल रहेको देश भुटानको अर्थतन्त्र अहिले नेपालको भन्दा धेरै फड्को मारिसकेको छ । प्रतिदिन दुई सय डलर खर्च गर्न नसक्ने पर्यटकले भुटानको भिसा समेत पाउँदैनन । भुटानले आफनो प्रकृति, धर्म, संस्कृति र धार्मिक स्थलहरुलाई प्राथमिकता साथ जोगाएर त्यसलाई नै पर्यटकसामु बेचेर अर्थतन्त्रको तीब्रतर विकास गरिरहेको छ । आज पर्यटन भुटानको अर्थतन्त्र विकासको मुख्य आधार बनेको छ ।यसैलाई आधार मानेर भुटानले कुल ग्राहस्थ खुशी अर्थतन्त्र भन्ने अवधारणा नै विश्व सामु राखेको छ । इतिहासमा नै पहिलो पटक चार अंकको प्रतिव्यक्ति आय बनाउन सफल भएको भनिएको नेपालको प्रतिव्यक्ति आय एक हजार चार अमेरिकी डलर बल्ल पुगेको छ । तर, भुटानले प्रतिव्यक्ति आय औसतमा चार हजार एक सय अमेरिकी डलर पुर्याएको छ । यस्तो अवस्थामा हाम्रो नेपालको प्रतिव्यक्ति आय वृद्धि हुनुमा वैदेशिक रोजगारीले कमाएको रेमिटेन्स मुख्य आधार हो ।साउदी अरेविया र कतारको अर्थतन्त्र प्रभावित भएसँगै रोजगारी कटौति भएको प्रभाव नेपालको अर्थतन्त्रसम्म हालै मात्र परेको छ । यस्तो अवस्थामा रेमिटेन्स देशका लागि अति नै जोखिमले भरिएको आर्थिक स्रोत हो । नेपाली युवा बढि कार्यरत रहेका देशको अर्थतन्त्रमा थोरै मात्र नकारात्मक प्रभाव पर्ने बित्तिकै नेपाल आउने रेमिटेन्स बन्द हुनेछ । त्यसैले आन्तरिक अर्थतन्त्रलाई मजबुद पार्ने र देशभित्रै आर्थिक उन्नतिको वातावरण तयार पार्ने विकल्प खोज्न ढिलाई गर्ने समय छैन । यस्तो अवस्थामा धार्मिक आध्यात्मिक विषयसँग जोडेर अघि बढाईने पर्यटन देशको आम्दानीको दरिलो आधार हुने देखिन्छ । र त्यो नै आध्यात्मिक पुँजीवाद हुनेछ ।

(पन्त, नेपाल ज्योतिष परिषदका केन्द्रीय पार्षद एवं दिव्य दृष्टि ज्योतिष सेवा तथा अनुसन्धान केन्द्रका संस्थापक हुन् सम्पर्क नं. ९८४१५२७५१०)

Advertisement

Advertisement