रसुवा र नुवाकोटका २२८ मेगावाटका निर्माणाधिन आयोजनाहरुको काम धमाधम, उर्जामन्त्रीले गरे निरीक्षण

Advertisement

काठमाडौंः नेपाल विद्युत प्राधिकरण र चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा रसुवा र नुवाकोटमा २२८ दशमलव ३ मेगावाटका आयोजनाहरुको निर्माणकार्य धमाधम भइरहेको प्राधिकरणले जनाएको छ ।

काममा कुनै अवरोध नआएमा सबै आयोजनाको निर्माण २०७६ भित्र सम्पन्न हुने प्राधिकरणको विश्वास छ । साठी मेगावाटको माथिल्लो त्रिशूली ३ ए र चिलिमको मुख्य प्रवद्र्धकत्वमा १११ मेगावाटको रसुवागढी, १४ दशमलव ८ मेगावाटको माथिल्लो सान्जेन तथा ४२ दशमलव ५ मेगावाटको सान्जेन जलविद्युत आयोजनाको निर्माण धमाधम भइरहेको हो ।

भूकम्प र त्यसपछि बाढीपहिरो, नाकाबन्दीले गर्दा सबै आयोजनाको निर्माण प्रभावित भए पनि अहिले कुनै अवरोध छैन । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनलगायतको टोलीले शुक्रबार, शनिबार र आइतबार ती आयोजनास्थलहरुको निरीक्षण गर्यो ।

टोलीले काम तोकिएको समयमा सक्न निर्देशन दिएको छ भने ठेकेदार कम्पनीहरुले पनि तोकिएकै समयमा आयोजना सम्पन्न गर्ने प्रतिबद्धता जनाएको प्राधिकरणको भनाई छ । मन्त्रीसहितको टोलीले आयोजनाको कामकारवाहीमा रहेका समस्या र समाधानका बारेमा पनि सम्वन्धित आयोजनाका सरोकारवालासँग छलफल गरेको थियो ।

सरकार, प्राधिकरणको लगानी र चिनियाँ एक्जिम बैकको सहुलितपूर्ण ऋणमा बनिरहेको माथिल्लो त्रिशूली ३ एको निर्माण वैशाख २०७६ (३० अप्रिल २०१९)भित्र सक्ने लक्ष्य राखिएको छ । आयोजनाले निर्माण गरिहेको त्रिसुली ३ ए–मातातिर्थ २२० केभी प्रसारण लाइनको एक सय ४२ वटा टावरमध्ये स्थानीयको अवरोधका कारण पाँच टावरको काम नै सुरु गर्न नसकिएको आयोजना प्रमुख फडिन्द्रराज जोशीले बताए ।

लागत सय समय बढ्न नदिन इन्जिनियरिङ, खरिद र निर्माण (इपिसी) मोडलमा सिभिल विद्युत्गृह, बा“ध, सुरुङलगायतका संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रो मेकानिकलको काम गर्न चाइना गेजुवा ग्रुप अफ कम्पनीज (सिजिजिसी)लाई जिम्मा दिइरहेको छ ।

समयमा निर्माणस्थल दिन नसक्दा, विद्युतगृह भूमिगत बनाउने या सतही बनाउने विवाद, क्षमता बढाउने निर्णय, भूकम्प लगायतका कारणले आयोजनाको निर्माण ढिलाई भएको थियो । अहिले ठेकेदार कम्पनीको काम विगतमाभन्दा सन्तोषजनक रहेको र तोकिएकको समय अगावै सक्ने गरी काम भइरहेको जोशीले बताए ।

रसुवागढीको अहिलेसम्म निर्माण प्रगति ६० प्रतिशत रहेको जनाइएको छ । आयोजनाले मिति २०७६ साल पुस १५ देखि विद्युत उत्पादन शुरु गर्ने लक्ष्य राखेको छ । आयोजनाका विद्युत जोड्नका लागि चिलिमे हव–त्रिसुली ३ बी प्रसारण लाइन हवको निर्माण हुनुपर्छ ।

रसुवागढी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत माधव कोइरालाले प्रसारण लाइन अभावमा विद्युत खेर आउन नदिन सबै सरोकारवाला निकाय गम्भीर बन्नुपर्ने बताए । उनले परामर्शदाता र ठेकेदार कम्पनीलाई विदेशी मुद्रा भुक्तानीका लागि सटही प्रक्रिया ज्यादै झण्झटिलो रहेकाले यसलाई सहज बनाइदिन आग्रह गरे ।

माथिल्लो सान्जेन र सान्जेनको समग्र प्रगति क्रमशः ७० र ६० प्रतिशत छ । सान्जेन जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत किरण श्रेष्ठले मुख्य सिभिल संरचना निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनी कमजोर रहेकाले काम प्रभावित भइरहेको बताए ।

प्रसारणलाइनको निर्माण गर्न सरकारी जग्गा र बन क्षेत्रको रुख काट्ने स्वीकृतिका लागि सरकारी प्रक्रिया अत्यन्त झन्झटिलो रहेको उनले जानकारी गराए । आयोजनाले विद्युत गृहबाट चिलिमे हवसम्म १३२ केभीको ७ किलोमिटर प्रसारण लाइन बनाउनुपर्छ ।

माथिल्लो सान्जेनबाट अप्रिल २०१९ बाट विद्युत उत्पादनको लक्ष्य राखिएको छ भने सान्जेनको प्राधिकरणले निर्माण गर्नुपर्ने चिलिमे हव–त्रिसूली ३ बी २२० केभी प्रसारण लाइनसँग समन्वय गरी काम अगाडि बढिउनुपर्ने रहेकोले उक्त प्रशारणलाइन निर्माण हुने अबधि जुन—जुलाई २०१९ सम्म यस आयोजनाको पनि निर्माण कार्य सक्ने गरी काम अगाडी बढाइएको आयोजनाले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement