निजी उर्जा उत्पादकहरुलाई कडाई गर्दै उर्जामन्त्री, १५ दिनभित्र सम्पूर्ण प्रगति बुझाउन निर्देशन

Advertisement

काठमाडौंः उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनले निजी क्षेत्रका उर्जा उत्पादकहरुलाई कडाई गर्न थालेका छन् । उनले निजी क्षेत्रका निर्माणाधीन जलविद्युत आयोजनाको प्रगति सन्तोषजनक नरहेको भन्दै १५ दिनभित्र प्रगति विवरण बुझाउन निर्देशन दिएका छन् ।

पुनले निजी क्षेत्रबाट निर्माणाधिन तथा निर्माणको चरणमा रहेका जलविद्युत आयोजनाको प्रगति विवरण बुझाउन निर्देशन दिँदै विवरण नबुझाए कारवाही गर्ने संकेत गरेका छन् ।

मन्त्रालयले निर्देशन दिएपछि प्राधिकरणले सार्वजनिक सुचनासमेत जारी गरेर निजी क्षेत्रका आयोजनाको प्रगति विवरण मागेको छ । प्राधिकरणले सोमबार यस्तो सुचना प्रकाशित गरेको हो ।

मन्त्री पुनले निजी क्षेत्रका आयोजनाहरुको समेत निर्माणमा देखिएको ढिलाईले ऊर्जा तथा जलविद्युत विकासको लक्ष्यमा असर परेकोले अनुगमन गर्न जरुरी रहेको बताउँदै निजी क्षेत्र र प्राधिकरण दुवैले निर्माण गरिरहेका आयोजनाहरुको अनुगमन जरुरी रहेको बताएका छन् । अहिले पुन प्राधिकरणअन्तर्गतका निर्माणाधिन आयोजनाहरु निरीक्षण गर्दै हिँडेका छन् ।

विद्युत उत्पादनको लक्ष्य हासिल गर्न त्यही अनुसार आयोजनाको प्रगति हुनुपर्ने मन्त्री पुनको भनाई छ । उनले अब विद्युत उत्पादनसँगै अनुगमन तथा नियमनमा पनि कडाई गरिने बताएका छन् ।

प्रगति विवरण पेस नगर्ने निजी प्रवद्र्धकले कुनै पनि बाहनामा छुट नपाउने भन्दै पुनले दिगो विद्युत विकास, प्रसारण तथा पहुँचमा ध्यान दिन पनि प्राधिकरणलाई निर्देशन दिएका छन् । प्राधिकरणले सार्वजनिक गरेको सूचनामा भनिएको छ– प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पिपिए) भएका विभिन्न प्रवद्र्धकले मध्ये केहीले मात्र अद्यावधिक विवरण बुझाएकाले अनुगमनमा अप्ठ्यारो परिरहेको छ ।

देशमा ऊर्जाको संकट रहेकोमा कतिपय पिपिए भएका आयोजनाको निर्माण लामो समयसम्म सुरु नभएको भन्दै प्राधिकरणले निर्माणाधीन आयोजनाको प्रगति पनि सन्तोषजनक नरहेकाले ऊर्जा व्यवस्थापनमा समेत अन्योल सिर्जना भएको जनाएको छ ।

Advertisement

Advertisement

Advertisement