अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन बहिस्कार गरेका ओलीले आज भने लुम्बिनी गएर भाषण गरे

Advertisement

रुपन्देहीः अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको उदघाटन कार्यक्रम बहिस्कार गरेका प्रधानमन्त्री केपी ओली सोमबार बुद्ध जयन्तीको दिन भने लुम्बिनी आएर भाषणा गरेका छन् । प्रधानमन्त्रीले उदघाटन गर्ने तयारी गरिएको सम्मेलनमा ओली अन्तिम समयमा नआउने खबर पठाएका थिए ।

ओली नभएपछि पर्यटनमन्त्री रविन्द्र अधिकारीले सम्मेलनको उदघाटन गरेका थिए । १५ देशका मन्त्री र दुई दर्जन बढि मुलुकका विद्धानहरु सहभागी सम्मेलनमा ओली सहभागी नहुनुलाई अर्थपूर्णरुमपा लिइएको छ ।

पच्चीस सय ६२औँ बुद्ध जयन्तीको अवसरमा आज लुम्बिनीमा आयोजित कार्यक्रममा ओलीले यसलाई आकर्षक गन्तव्यको रुपमा विकास गरिने बताए । उनले यो ठाउँ हेर्दा पनि पवित्र, सुन्दा पनि पवित्र र सुगन्ध पनि पवित्र हुने ठाउँका रुपमा स्थापित गर्न चाहन्छौँ भन्दै लुम्बिनी वनलाई सुन्दर र बास्नादार ज्ञानले भरिपूर्ण प्राकृतिक सौन्दर्ययुक्त ‘मौरीको आहारा पाउने’ थलोका रुपमा विकास गर्ने बताए ।

कमजोरी, खराबी र विकृति हटाउने विषयलाई बुद्धले कहिल्यै स्वीकार नगरेको बताउँदै ओलीले भने, “अहिले पनि बुद्धका विचार सान्दर्भिक, महत्वपूर्ण र कालजयी छन् ।” बुद्ध लुम्बिनीमा जन्मेको विषयमा बहस गर्न नपर्ने उल्लेख गर्दै उनले बुद्धसँग सम्बन्धित देवदह, तिलौराकोट र रामग्राम क्षेत्रको विकास गर्न सरकार कटिबद्ध रहेको बताए ।

ओलीले थपे, “लुम्बिनी तीर्थस्थल, पर्यटकीयस्थल र अध्ययनस्थल मात्रै होइन, ज्ञानभूमि, तपोभूमि, देवभूमि पनि हो ।”

सो अवसरमा प्रधानमन्त्री ओलीले लुम्बिनी विकास कोषका उत्कृष्ट कर्मचारीहरुलाई सम्मान गरे । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी हुन ।

Advertisement

Advertisement

Advertisement