खिला र जितेन्द्रले लाखौं खाएर हाम्रो बिचल्ली बनाएः क्यासिनो अन्नाका मजदुरहरु

Advertisement

काठमाडौंः आर्थिक प्रलोभनमा दरबारमार्गको होटल अन्नपूर्णमा रहेको क्यासिनो अन्नाका सयौं मजदुरलाई बिचल्ली बनाउने काम गरेको भन्दै पीडितहरु पूर्व पर्यटनमन्त्री जितेन्द्र देव र नेपाल टे«ड युनियन काँग्रेसका अध्यक्ष खिलानाथ दाहालसँग रुष्ट भएका छन् ।

क्यासिनो अन्नाका ९२२ जना कर्मचारीहरु सेवामा बहाल रहँदा रहँदै अदालत र संसदिय समितिहरुको निर्देशनविपरित मन्त्री देवले अन्नपूर्ण होटलमा अर्को क्यासिनोलाई लाइसेन्स दिएको र त्यसमा दाहाल साक्षी बसेको मजदुरहरुको गुनासो छ ।

उक्त क्यासिनोमा दशौं बर्षसम्म काम गरेका मजदुरहरुको पारिश्रमिकदेखि सञ्चय कोष र उपदानमा जम्मा भएको करोडौं रुपियाँ रकम भुक्तान नगरी अन्नपूर्ण होटलकी सञ्चालक सिर्जना राणाले नयाँ क्यासिनो खोलेपछि क्यासिनो अन्नाका सयौं मजदुरहरुको बिचल्ली भएको छ ।

महिनौंदेखि आफूहरुको रोजगारीको सुरक्षा र पाउनुपर्ने रकमका लागि संघर्ष गर्दै आएका क्यासिनोका मजदुरहरुले लाखौं रुपियाँ कमिशन लिएर तत्कालिन पर्यटनमन्त्री देव र ट्रेड युनियन काँग्रेसका अध्यक्ष दाहालले आफूहरुलाई सडकमा पुर्याएको बताउँछन् ।

क्यासिनो अन्नाका काँग्रेसनिकट एक मजदुर भन्छन– काँग्रेसको सरकार भएको बेला हाम्रो रोजगारीको सुरक्षा होला । हामीलाई न्याय होला भनेको उल्टै काँग्रेस हुँ भन्नेले नै पैसाको लोभमा हाम्रो बिचल्ली बनाइदिए ।

दाहाल काँग्रेसमा शेरबहादुर देउवा खेमाका व्यक्ति हुन । ट्रेड युनियन काँग्रेसको नजिकिँदो महाधिवेशनमा पुनः अध्यक्षमा चुनाव लडने तयारी गरेका उनी क्यासिनो अन्ना प्रकरणले आफै समस्यामा परेका छन् । ट्रेड युनियन काँग्रेसको जारी क्षेत्रीय तथा जिल्ला अधिवेशनहरुमा पीडित मजदुरहरु पुगेर दाहालले आर्थिक प्रलोभनमा आफूहरुलाई बिचल्ली बनाएको कुरा उठाएपछि अधिकाँश जिल्ला तथा क्षेत्रमा चुनाव हारेका छन् ।

ट्रेड युनियन काँग्रेसको केन्द्रीय महाधिवेशनमा क्यासिनो अन्नाका काँग्रेसनिकट सयौं मजदुरहरु विरोधमा प्लेकार्ड र ब्यानरसहित विरोध उत्रने तथा धर्नामा बस्ने तयारी गरेपछि दाहालले महाधिवेशन पर सार्ने तयारी गरेका छन् ।

देव पर्यटनमन्त्री हुँदा अधिकाँश समय उनीसँगै हिँडने गरेको दाहाललाई देवले छुट्टै गाडिको समेत व्यवस्था गरेका थिए । अन्ना मजदुरहरु भन्छन– महाधिवेशनमा प्लेकार्ड र व्यानरसहित विरोधमा उत्रिने मात्रै होइन यस्ता गद्दारहरुलाई कुटनुपर्छ भनेर आक्रोसित छन् । हामीले हातपात गर्ने काम नगर भनेर सम्झाएका छौं ।

आफूहरुले काम गर्दै आएको क्यासिनोलाई सुनियोजित ढंगबाट भत्काउने र मजदुरहरुको व्यवस्थापन नगरी सिर्जना राणाले पैसा र पावरको बलमा अर्को क्यासिनो खोल्ने काममा लागेको पीडित मजदुरहरुको गुनासो छ ।

राणाले प्रधानमन्त्रीसमेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजुदेखि काँग्रेस नेता बिमलेन्द्र निधिको आडबलमा प्राइड नामकको नयाँ क्यासिनो खोल्ने र क्यासिनो अन्नाको अस्तित्व समाप्त गरी त्यहाँ कार्यरत मजदुरहरुलाई बेवास्ता गर्ने काम गरेको बताउँदै आएका छन् ।

नेपालका क्यासिनोहरुको वास्तसिक सञ्चालक आरडी टटललाई जबरजसती हटाएपछि एकपछि अर्को समूहले आफूलाई मालिकको रुपमा आफूलाई प्रस्तुत गर्ने तर सरकारलाई तिर्नुपर्ने राजश्वदेखि मजदुरहरुलाई दिनुपर्ने दायित्व नतिर्ने गर्दै आएका थिए । अन्नपूर्ण होटलकै लेटरप्याडमा नियुक्ति लिएका क्यासिनोका ९२२ मजदुरहरुको दायित्व पनि कानुनअनुसार होटलकै हुन्छ ।

Advertisement

Advertisement

Advertisement