काबुल बम हमलामा मारिएका पत्रकारहरुको सम्झनामा दीप प्रज्वलन

Advertisement

काठमाडौंः गत सोमबार अफगानिस्तानको काबुलमा आत्मघाती बम हमलाबाट मारिएका पत्रकारहरुको सम्झनामा नेपाल पत्रकार महासंघ र फोटो जर्नालिष्ट क्लबले संयुक्तरुपमा बुधबार माइतीघर मण्डलामा दीप प्रज्वलन गरे ।

दीप प्रज्वलन कार्यक्रममा महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य र पदाधिकारीहरु, पूर्व अध्यक्षहरु, प्रेस काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठ, प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टर जस्ता संस्थाका पदाधिकारी र विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकार एवं सञ्चारकर्मी सहभागी थिए ।

महासंघका अध्यक्ष आचार्यले पत्रकारमाथि लक्षित हुने कुनै पनि आतंककारी हमला सभ्य समाजमा स्वीकार्य नहुने भन्दै त्यसविरुद्ध विश्वभरका पत्रकारहरु एकजुट हुने बताए । आतंकवादी हमलाबाट पत्रकारको कलम नडगमगाउने भन्दै उनले विश्वका कुनै पनि कुनामा पत्रकारलाई लक्षित गरेर हुने यस्ता हमलाको भत्र्सना गरिने बताए ।

यसैगरी, प्रेस काउन्सिलका अध्यक्ष श्रेष्ठले आतंककारी हमलाको निन्दा गर्दै यस्ता हमलाबाट पत्रकारको रक्षा गर्न विश्वभरका सबै सरोकारवालाहरु चनाखो हुनुपर्ने बताए ।

बम हमलामा परी अफगानिस्तानमा एएफपीमा कार्यरत फोटो पत्रकार शाह मराई लगायत नौ पत्रकारको ज्यान गएको थियो । त्यसैगरी दक्षिणी अफगानिस्तानको खोस्ट प्रान्तमा बीबीसीका पत्रकार अहमद साह मारिएका थिए ।

काबुलस्थित नेटोको मुख्यालय र अमेरीकी दूतावास नजिकै भएको बम बिष्फोटनको समाचार संकलन गरिरहेको अवस्थामा क्यामरासहित पत्रकारको भेसमा मोटरसाइकलमा पुगेका आत्माघाती हमलाकारीहरुले पत्रकारहरुलाई लक्षित गरी बिष्फोट गराएका थिए ।

काबुल घटनामा पत्रकारहरुसहित २५ जना मारिएका थिए । घटनाको आइएसले जिम्मेवारी लिएको छ ।
मारिने पत्रकारहरु
शाह मराई                     एएफपी
यर महोमद तोखी         टोलो न्यूज
महाराम दुरानी              रेडियो फ्री यूरोप
अब्दुला हाननजई         रेडियो फ्री यूरोप
सबाउन काकर              रेडियो फ्री यूरोप
गाजी रासौली                वान टिभी
नरुज अलि राजबी         वान टिभी
सलिम तलास                मासाल टिभी
अलि सालमी                 मासाल टिभी
अमहद शाह                   बिबिसी

Advertisement

Advertisement

Advertisement