काठमाडौंः सरकारले सिण्डिकेटको विरोधमा कडा नीति ल्याएपछि देशभरका यातायात व्यवसायी सार्वजनिक सेवा बन्द गरेर हड्तालमा उत्रिएका छन् । समितिको नाममा चल्दै आएको यातायात सेवालाई कम्पनीमा रुपान्तरण गर्नुका साथै सिण्डिकेट अन्त्यको घोषणा सरकारले गरेसँग व्यावसायी विरोधमा उत्रिएका हुन् ।
सिण्डिकेट पक्षधर व्यवसायीहरुले आजदेखि देशव्यापी रुपमा आन्दोलनको घोषयाा गरेपनि केही यातायात सेवा समितिहरुले भने सेवा दिइरहेका छन् । बन्दका कारण शुक्रबार विहानैदेखि देशभर प्रभाव परेको देखिन्छ । देशका काठमाडौं, पोखरा, बुटवल, विराटनगर, विरगञ्जजस्ता ठुला सहरमा पनि प्रतक्ष प्रभाव परेको छ ।
यात्रुहरु एक ठाँउबाट अर्को ठाँउमा जान नपाएर मारमा परेका छन् । देशका प्रत्येक ठुला शहरमा भाडाका सवारी कम मात्रामा देखिएका छन् भने केही शहरमा सुनसान जस्तै अवस्थामा रहेको छ ।
आज विहानैदेखि भाडाका अधिकांस सवारी साधन नचलेपनि नीजि तथा ट्याक्सीहरु भने चलिरहेका छन् । यस्तै, साझा यातायात, अन्नपुर्ण यातायात, मयुर यातायात, अर्मि, पुलिसका र विद्यालय तथा कलेजका सवारी साधनले पनि लगातार सिण्डिकेटको विरोधमा सेवा दिइरहेका छन् ।