‘ब्रुमर’ खरिदमा एक करोड ७० लाख रुपियाँ भ्रष्टाचार, मेयरसहित महानगरका उच्च कर्मचारी नै संलग्न

Bidhya-Sundar-Shakya_road_swipner_purches_corruption

काठमाडौंः रोड स्विपर (ब्रुमर) खरिदका लागि काठमाडौं महानगरपालिकाले गरेको टेण्डर प्रक्रियामा सार्वजनिक खरिद ऐनविपरित बदनियतपूर्ण तरिकाले महंगो मूल्य प्रस्ताव गर्ने बोलपत्रदातालाई ठेक्का अवार्ड गर्ने निर्णय गरिएको छ ।

महानगरपालिकाले सडक सफा गर्न प्रयोग हुने यस्ता रोड स्विपरहरु खरिदका लागि परेको टेण्डर प्रक्रियामा न्यूनतम रकम प्रस्ताव गर्ने दुई कम्पनीलाई पन्छाएर तेस्रो नम्बरको बोलपत्रदातालार्इ बदनियतपूर्ण तरिकाले ठेक्का दिने तयारी गरिएको हो ।

united_cement

कम्पनी विशेषलाई लक्षित गरी गरिएको टेण्डर प्रक्रियामा लक्षित गरिएको कम्पनीले प्रस्ताव गरेको भन्दा अन्य दुई कम्पनीले न्यून रकम प्रस्ताव गरेपछि न्यून रकम प्रस्ताव गर्ने दुवैलाई प्राविधिकरुपमा अयोग्य रहेको भन्दै तेस्रो नम्बरको बोलपत्रदाताको प्रस्तावलाई सदर गर्ने काम भएको छ ।

यस्तो छ प्रक्रिया
महानगरपालिकाले गत फागुन २६ गते गरेको टेण्डर प्रक्रियामा सात वटा कम्पनीले ब्रुमर भित्राउन इच्छा प्रकट गर्दै टेण्डर प्रक्रियामा सहभागी भएका थिए । सुचनाअनुसार इच्छुक बोलपत्रदाताले पाँच वटा ब्रुमर आयात गर्नुपर्ने र तीन बर्षसम्म त्यसको सञ्चालनको जिम्मा लिनुपर्नेछ । इन्धन महानगरपालिकाले उपलब्ध गराए पनि चालक भने सम्वन्धित कम्पनीले नै व्यवस्था गर्नुपने शर्त छ ।

महानगरपालिकाको शर्तअनुसार प्रस्ताव दर्ता गर्ने सात कम्पनीमा प्यार सिंह एण्ड सन्स जेभी राजले सबैभन्दा कम नौ करोड १० लाख ६५ हजार प्रस्ताव गरेको छ । भारतीय ब्राण्डको आर२०५९एचडी मोडलको ब्रुमर आयातको प्रस्ताव गरेको यस कम्पनीलाई महानगरले मापदण्ड नपुगेको आरोप लगाउँदै अयोग्य ठहर गरेको छ ।

त्यस्तै, दोस्रो न्यून रकम प्रस्ताव गर्ने बोलपत्रदाता काला इन्कर्पोरेटेड प्रालि जेभी गुरु नानक इन्जिनियरिङ ओक्सले नौ करोड नौ करोड २० लाख ७५ हजार रुपियाँको प्रस्ताव गरेको छ । यसलाई पनि महानगरपालिकाले मापदण्ड नपुगेको भन्दै अयोग्य ठहर गरेको छ ।

सार्वजनिक खरिद ऐनअनुसार टेण्डरमा सहभागीहरुमध्ये न्यूनतम बोलकबोल गर्ने कुनै कम्पनीको मापदण्ड नपुगेको भए बोलाएर पुर्याउन मौका दिनुपर्ने र पुर्याउन नसक्ने अवस्थमा मात्रै त्यसमाथि माथिल्लो रकम प्रस्ताव गर्नेलाई ठेक्का दिनुपर्नेमा महानगरपालिकाले नै बदनियतपूर्ण तरिकाले न्यून रकम प्रस्ताव गर्ने प्रस्तावकहरुलाई अस्वीकृत गरेको छ ।

ठेक्का अवार्ड गर्ने निर्णय गरिएको तेस्रो नम्बरमा रहेको बोलपत्रदाता वल्ड वाइड ट्रेडिङ प्रालिले प्रस्ताव गरेको रकम दोस्रो नम्बरको बोलपत्रदाताले कोट गरेको रकमभन्दा एक करोड एक करोड ६० लाख ७४ हजार रुपियाँ बढि छ भने पहिलो नम्बरमा रहेको बोलपत्रदाताले प्रस्ताव गरेको भन्दा एक करोड एक करोड ७० लाख ८४ हजार रुपियाँ बढि छ ।

डेलोभो ब्राण्डको इटालियन ब्रुमर आयात गर्न प्रस्ताव गर्ने वल्ड वाइड ट्रेडिङले प्रस्तुत गरेको स्पेसिफिकेशन र महानगरपालिकाले माग गरेको स्पेसिफिकेशन करिव करिव मिल्दो जुल्दो छ । महानगरपालिका स्रोत भन्छ– डेलोभो नै खरिद गर्न पहिलो नै तयारी भएर टेण्डर आह्वान भएको हो । मेयर साप, हाकिम साप सबैले उसैलाई रोजेपछि अरुले टेण्डर पाउने संभावना नै थिएन ।

टण्डरमा सहभागी अन्य चार कम्पनीमध्ये तीन वटाको प्राविधिक मापदण्ड पूरा गरे पनि रकम बढि छ भने सातौं नम्बरको कम्पनीले मापदण्डअनुसार नरहेको भन्दै उसलाई पनि कैफियत जनाइएको छ ।

महानगरपालिकाले ल्याउने तयारी गरेको इटालियन ब्रुमर

साँसददेखि मेयरसम्मको मिलेमतो
ब्रुमर खरिद प्रकरणमा काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्य र काठमाडौंका एक साँसद रामवीर मानन्धर पनि संलग्न रहेका छन् । उनीहरु दुवैले डेलोभोकै ब्रुमर खरिदको सिलसिलामा यसको दिल्लीस्थित एजेन्सी अफिसमा पुगेर डिल गरेर आएका थिए ।

ब्रुमर खरिदकै विषयमा यसअघिका कार्यकारी निर्देशक धनीराम शर्मासँग विवाद भएपछि उनलाई सरुवा गरिएको थियो । सो ठाउँमा भर्खरै नियुक्त भएर आएका यादव कोइरालामार्फत यो काम फत्ते गराउने तयारीमा विद्यासुन्दर रहेका छन् ।

यस खरिद प्रक्रियामा मुख्यरुपमा जोडिएका महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्की, वातावरण विभागका प्रमुख हरि कुँवर र इन्जिनियरिङ विभागका प्रमुख प्रमोद डंगोल शुक्रबार साँझ दिल्लीस्थित डेलोभोका प्रतिनिधिहरुसँग कुरा गर्न दिल्लीतर्फ गएको महानगर स्रोतले जानकारी दियो । उनीहरु सबै कार्यालयबाट निर्णय गरेर औपचारिकरुपमा नभई नऔपचारिक ढंगले कुरा गर्न गएकोले पनि यस खरिद प्रक्रियामा चलखेललाई पुष्टि गर्ने स्रोतको दावी छ ।

यस खरिद प्रक्रियालाई बैधानिकता दिन महानगरपालिकाकै कर्मचारी रविनमान श्रेष्ठको संयोजकत्वमा रोड स्वीपर÷ब्रुमर खरिद मूल्यांकन उपसमिति बनाइएको थियो । उपसमितिले मेयरको आदेशअनुसार नै डेलोभोको खरिदलाई उचित ठहर गर्दै प्रतिवेदन दिएको छ ।

किनेर ल्याएको केही दिनमा काम नगर्ने भएर काठमाडौं महानगरपालिकाको टेकु कार्यालयमा थन्किएको चिनियाँ ब्रुमर ।

युरोपियन ब्रुमर नेपालका सडकका लागि अनुपयुक्त
यसअघि सार्क सम्मेलनका क्रममा महानगरपालिकाले झण्डै करोड रुपियाँ खर्च गरेर ल्याएको चिनियाँ ब्रुमर एक महिना पनि टिक्न सक्ने । त्यसको मुख्य कारण थियो उक्त ब्रुमर काठमाडौंको धेरै फोहर हुने सडकका लागि अनुपयुक्त ।

महानगरपालिकाले अहिले छनोट गरेको युरोपियन ब्राण्ड डेलोभो पनि काठमाडौंको सडकका लागि फिट नहुने कुरा महानगरकै बैठकहरुमा पटक पटक कुरा हुँदाहुँदै पनि त्यही ब्रुमरहरु ल्याउने तयारी गरिएको हो । डेलोभोका ब्रुमरहरु विमानस्थल, रंगशाला, ठूला कलकारखानाका लागि मात्रै उपयुक्त हुन्छ । युरोपका सडकहरु धेरै फोहर नहुने भएकाले त्यस क्षेत्रमा डेलोभोले काम गर्ने गरेपनि नेपाल, भारत, बंगलादेश जस्ता बढि धुलो र फोहरयुक्त सडकहरुका लागि अनुपयुक्त हुन्छ ।

भारतमै पनि डेलोभोका ब्रुमरहरु प्रचलनमा रहेका छन् । तर, ती सबै सडकमा नभई सुविधायुक्त ठाउँहरु विमानस्थल र क्रिकेट मैदानमा मात्रै प्रयोग हुँदै आएका छन् । यता भारतमै उत्पादन हुँदै आएका ब्रुमरहरु भारतकै सयौं नगरपालिकाहरुले आफ्ना सडक सफा गर्न प्रयोग गर्दै आएका छन् ।

लागतका हिसावले पनि सस्तो, स्पियर पार्टहरु पनि सजिलै पाउन सकिने, बिग्रिएमा नेपालकै मेकानिक्सहरुले मर्मत गर्न सक्ने र नेपालका फोहर सडकहरुलाई सफा गर्न उपयुक्त हुँदाहुँदै आर्थिक प्रलोभनमा परेर इटालियन ब्रुमर ल्याउने काम हुन लागेको महानगरपालिकाका कर्मचारी बताउँछन् ।

यसअघि भारतमै राष्ट्र मण्डल खेलका लागि इटालियन ब्रुमर खरिद गर्दा भ्रष्टाचार गरेको ठहर भएपछि पुनेका काँग्रेस आईका नेता सुरेश कलमाडी अहिले पनि जेल सजाय काटिरहेका छन् । नेपालमा पनि केही मानिसको आर्थिक स्वार्थका लागि युरोपियन ब्रुमरहरु ल्याउने हो भने एक महिनाभन्दा बढि समय नटिक्ने स्वयम महानगरका कर्मचारीहरुको स्वीकारोक्ती छ ।

त्यसमाथि युरोपियन ब्रुमरका लागि भन्दै एकै पटक करोडौं रुपियाँका स्पियर पार्टहरु मगाउने तयारीले अर्को भ्रष्टाचार हुनुका साथै एकैचोटी ठूलो परिमाणमा ल्याएर राखिने त्यस्ता पार्टहरु चोरिने, हराउने र खिया लाग्ने भई महानगरलाई अरु लाखौं रुपियाँ नोक्सानी हुने उनीहरुको भनाई छ ।