विवादकाबीच काँग्रेसमा पदाधिकारी चयन, सबै देउवा पक्षीय, काँग्रेसमा विभाजनको संकेत

Advertisement

काठमाडौंः वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको विरोध हुँदाहुँदै काँग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो गुटबाट मात्रै कांग्रेस पदाधिकारी मनोनयन गरेका छन् ।

केन्द्रीय कार्यसमितिको शुक्रबार बसेको बैठकमा देउवाले प्रस्ताव गरेको अनुहारहरु पारित भएको हो । मनोनित हुनेमा उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा प्रकाशरण महत छन । यी सबै देउवा गुटका हुन । सहमहामन्त्रीमा पौडेल पक्षबाट नियुक्ति गर्ने अनुमान गरिए पनि देउवाले त्यसो गरेनन् ।

काँग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्का जिवित भइन्जेल पदाधिकारी मनोनयन नगरेका देउवा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण हुन लागेको बेला भारतका लागि गोप्यरुपमा काम गर्ने बताइँदै आएका निधिसहितका नेतालाई मनोनयन गर्नुलाई धेरैले अर्थपूर्णरुपमा लिएका छन् ।

यता उपसभापतिमा मनोनयन गर्ने आश्वासनसहित काँग्रेसमा भित्राइएका नेता विजय गच्छदारलाई पनि देउवाले जिल्लाइदिएका छन् । केन्द्रीय समितिमा बहुमतमा रहेका देउवाले बहुमतकै बलमा पदाधिकारी मनोयन गर्दा प्रतिनिधिसभादेखि स्थानीय तहको निर्वाचनसम्म लज्जास्पद हार व्यहोरेको काँग्रेस झन कमजोर हुने देखिएको छ ।

कतिपयले देउवाको एकपक्षीय निर्णयलाई पार्टी विभाजनको बीउको रुपमा समेत हेरेका छन् । काँग्रेसको विधान अनुसार सभापतिले मनोनयन प्रस्ताव राख्ने र निर्वाचित केन्द्रीय कार्यसमितिको बैठकले अनुमोदन गर्नुपर्छ।

देउवाले बहमतका आधारमा पेलेर निर्णय गर्ने भएपछि वरिष्ठ नेता पौडेल पक्षले बैठक बहिष्कार गरेको छ । सभापति देउवा विधानको व्यवस्था र सहमति विपरीत अघि बढेको भन्दै पौडेल समूहका पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेता महेश आचार्यले विधानको व्यवस्था र सहमति विपरीत मनोनयन गरिएको बताएका छन् ।

पौडेल पक्षले विधानको व्यवस्था निलम्बन या बाधा अड्काउ नफुकाई पदाधिकारी मनोनयन गर्न नमिल्ने तर्क गर्दै आएको थियो । विधानमा महाधिवेशन सम्पन्न भएको दुई महिनाभित्रै पदाधिकारीको मनोनयन गर्नुपर्ने व्यवस्था भए पनि देउवाले दुई बर्षसम्म आलटाल गर्दै आएका थिए ।

Advertisement

Advertisement

Advertisement