आलेखः खुला बजार नीतिले खुलेको चीनको आर्थिक विकास

Advertisement

बेइजिङः जनवादी गणतन्त्र चीनमा यतिखेर चीनले खुला नीति लिएपछि भएको विकास र समृद्धिको समीक्षा सुरु भएको छ । चालीस वर्षअघि लिएको खुला नीतिले नै चीनलाई हाल विश्वको दोस्रो ठूलो अर्थतन्त्र एवम् प्रमुख दाताराष्ट्रका रुपमा स्थापित गर्न ठोस जगको काम गरेको जानकारहरुको विश्लेषण छ ।

चिनियाँ कम्युनिष्ट पार्टीका वरिष्ठ नेता देङ साओ पिङले सन् १९७८ को डिसेम्बरमा घोषणा गर्नुभएको एक सुधारवादी नीति नै खुला नीति हो । उहाँले विशेषगरी चीनलाई विश्व परिवेशमा खुलागरी चीनको आर्थिक विकास र यसका माध्यमबाट विश्वको विकासमा साझेदारका रुपमा चीन पनि प्रवेश गर्न चाहेको घोषणा गर्नुभएको हो ।

चिनियाँ विशेषताको समाजवाद नाम दिइएको सो नीतिले चीन विश्व बजारमा प्रवेश गरेको थियो । यसैबाट आधार निर्माण भएकोले पछि चीनलाई सन् २००० पछि विश्व व्यापार संगठनमा प्रवेश गर्नलाई सजिलो भएको थियो । चीनले लिएको यसै नीतिका कारण नै आजको चीन विश्व मानचित्रमा यो रुपमा स्थापित हुन सम्भव भएको र यसैको जगमा अडिएर बिआरआइजस्ता महत्वाकांक्षी र ठूला आयोजनाहरु लिएर चीन संसारसामु सबलरुपमा प्रवेश गर्न सम्भव भएको विश्लेषकको मत छ ।

उनीहरु चार दशक अघि र आजको चीनको तुलना गरिरहेका छन् । त्यस समय चीनको आर्थिक विकास पाँच प्रतिशत भित्रै सीमित थियो भने सन् २०१३ मा आउँदा ९.५ प्रतिशतसम्म पुगेको थियो । वार्षिक आर्थिक वृद्धि बढ्दो रुपमा छ । विश्वमा चिनियाँ व्यापारको मात्रामा भारी वृद्धि भएको छ भने चीनले विश्वमा निर्माण गरिरहेका आयोजना र विभिन्न देशलाई दिएको सहायताको तुलना गर्नेहो भने खरबौँ डलर पुगेको छ । यतिखेरसम्म आइपुग्दा चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्रका रुपमा स्थापित छ भने विश्वकै अर्थतन्त्रमा चीनको योगदान कम्तीमा ३० प्रतिशतमा उक्लेको छ । वर्षेनी घटाउँदै लगेको चीनले पछिल्लो समयमा रोजगारीका अवसरमा भारी मात्रामा वृद्धि गरिरहेको छ । नीति निर्माता भन्छन्, खुला नीतिको ठूलो योगदान नै यही हो । उनीहरु चीनको वर्तमान समृद्धिको आधार नै खुला नीति हो भन्छन् ।

देङ साओ पिङले खुला नीतिको पहिलो सुधार कार्यक्रम कृषिमा घोषणा गर्नुभएको थियो । यसले चीनको खेती प्रणाली, उत्पादन र बितरण प्रक्रियालाई लगभग संसारकै नमूना बनाइदियो । कृषिमा गरिने सुधारबाट देशको विकास छिट्टै सम्भव छ भन्ने उहाँको धारणा थियो । यसको परिणाम एक दशकमै देखिएको थियो । जस्तो कि सन् १९७५ देखि ८५ सम्मको दशकमा यहाँको कृषि उत्पादनमा २५ प्रतिशतले वृद्धि भएको थियो । यसले कृषिमा आधारित उद्योग कलकारखानाको वृद्धि र विकासमा सघाउ पुर्याएको थियो ।

त्यसपछिको उनको सुधार नीति उद्योगको विकास र औद्योगिक उत्पादनमा थियो । यसलाई उनले सरकारी र निजी उद्योगको उत्पादन तथा ग्रामीण र सहरी क्षेत्रको उत्पादनका रुपमा बर्गिकरण गरी वैज्ञानिक मूल्य प्रणाली ल्याए । यसले चीनको उत्पादन र वितवरण प्रणालीमा ठूलो सुधार ल्यायो । जसका कारण उत्पादकत्वका क्षेत्रमा चीनको प्रगति प्रतिदिन बढ्यो । यसले अर्थतन्त्रमा सकारात्मक असर पार्यो ।

त्यस्तै चीन विदेशी लगानीका लागि खुलाभयो । यसले चीनमा ठूलो वैदेशिक लगानी भित्रियो । लगानी भित्र्याउने वातावरणका लागि कर्मचारीतन्त्रमा सुधार गरियो र विशेष आर्थिक क्षेत्रहरु धमाधम खोलिए । यसले वैदेशिक लगानीका लागि सहजता थप्यो । राष्ट्रिय अर्थतन्त्रको विकास र सुधारका लागि यी नीति प्रमुख इन्जिनका रुपमा रहे । यसैलाई पछ्याउँदै अहिले पनि चीनमा आर्थिक विकासका ‘इनोभेटिभ’ प्रयासहरु जारी नै छन् । उच्च गतिको रेलसेवाको चमत्कारिक विकास, अलिबाबा, हुवावेजस्ता ठूला कम्पनीको प्रगति र संसार जोड्ने बिआरआइजस्तो महत्वाकांक्षी आयोजना यसका केही उदाहरण हुन् ।

चाइना सेन्टर फर इन्टरनेशनल इकोनोमिक एक्सचेन्जका प्रमुख अर्थशास्त्री प्रा. चेन वेनलिङले चीनको खुला नीति आधुनिक चीन निर्माणको प्रमुख आधारस्तम्भ र चीनलाई विश्वको प्रमुख अर्थतन्त्रका रुपमा स्थापित गर्ने तथा विश्वको शक्तिराष्ट्र बनाउने आधार बिआरआइ हो भन्छन । नेपालसहित विभिन्न १० एसियाली देशका पत्रकारसँग हालै बेइजिङमा गरेको अन्तरक्रियामा उनले भने– प्रस्तावित विआरआई चीनको खुला नीतिको नयाँ स्वरुप भएकोले यसको विस्तारगरी संसारलाई जोडेसँगै चीनको बाटो भएर संसारमा समृद्धि पुग्नेछ ।

विश्वमा दिगो विकास र व्यवस्थापनका लागि सर्वप्रथम जमिन या जलमार्गमध्ये एकले भौतिकरुपमा एक अर्कालाई जोड्नु नै विकासका लागि ठोस आधार बन्ने भन्दै वेनलिङले चीनले पहिला छिमेकी र त्यसपछि सिंगो एसियालाई आर्थिक कोरिडोर र त्यसपछि रेलमार्ग तथा सामुद्रिक मार्ग बन्दरगाहले जोड्ने नीति लिएको बताउँछन ।

त्यसैगरी चिनियाँ एक विशेषज्ञको संस्था इन्टरनेशनल कोअपरेसन सेन्टर अफ नेशनल डेभलपमेन्ट एण्ड रिफर्म कमिसशनका अनुसन्धानदाता डा. फाङ चेङले चीनले खुला नीति अख्तियार गर्नुअघि चीनको कुल ग्राहस्थ्य उत्पादन पाँच प्रतिशत मात्र रहेकोमा अहिले भने गतवर्ष १५ प्रतिशतसम्म वृद्धि भएको दृष्टान्त पेश गर्छन । उनले चीनको सामाजिक, शैक्षिक, प्राविधिक तथा वैदेशिक सम्बन्धमा पनि उल्लेख्य प्रगति भएको तथा दोस्रो ठूलो अर्थतन्त्रका लागि प्रसस्त आधार बनेको बताउँछन ।

चेङ भन्छन– चीनले अहिले विश्वका १३० देशसँग भौतिक रुपमा जोड्नेगरी (कनेक्टिभिटी)सम्बन्धी द्धिपक्षीय यातायात सम्झौता गरिसकेको छ विश्वको समृद्धिका लागि चीन अब महत्वाकांक्षी योजनाका साथ अघि बढेको छ ।

चीनको सियान विश्वविद्यालयका कम्युनिष्ट पार्टी सेक्रेटरी फान बिङले खुला नीतिका कारण चीनको आर्थिक, प्राविधिक, शैक्षिक तथा विविध क्षेत्रमा अभूतपूर्व विकास भएकोभन्दै यो समृद्धि र विकासलाई वर्तमान राष्ट्रपतिले अघि सारेको विआरआइले अझ ठूलो उचाइमा पुर्याउने विश्वास सबै चिनियाँले गरेको बताउँछन ।

उनी भन्छन– विआरआई चीनको मात्र नभई विश्वकै दिगो विकासको ठोस आधारशिला हो, यस बृहत आयोजनाले चीन र यसका छिमेकी देशलाईमात्र होइन सिंगो विश्वलाई नै सडक, समुद्र, सूचना प्रविधिलगायतको सञ्जालले जोड्नेछ । त्यसैले विश्वमा समृद्धि अब धेरै टाढा छैन । रासस

Advertisement

Advertisement

Advertisement