भक्तपुरका ट्रक व्यवसायी र इट्टा व्यवसायी मिलेर सिडिओको भव्य विदाई

Advertisement

भक्तपुरः भक्तपुरका ट्रक व्यवसायी र इट्टा उद्योगीहरु मिलेर सो जिल्लाबाट सरुवा भएका प्रमुख जिल्ला अधिकारी (सिडिओ) द्रोण पोखरेललाई शनिबार भव्य विदाई कार्यक्रम गरे । पोखरेल सेवाबाट अवकाश नभई सर्लाही सरुवा मात्रै भएका हुन् ।

भक्तपुर ट्रक व्यवसायी संघ र भक्तपुर इटा उद्योग व्यवसायी संघको संयुक्तरुपमा कार्यक्रम गरी उनलाई फुलमाला र दोसल्लासमेत ओढाएर विदाई गरेका हुन । उनलाई मायाको चिनो समेत दिइएको थियो । सुशासन र सदाचार ऐनअनुसार सार्वजनिक पद धारण गरेको कुनै पनि व्यक्तिले स्वार्थ बाझिने गरी सम्मान तथा पुरस्कार ग्रहण गर्न नपाउने व्यवस्था छ ।

विदाई कार्यक्रममा पोखरलले आफूलाई बिदाई गर्ने व्यवसायीको मुक्तकण्ठले प्रसंशासमेत गरे । उनले उद्योगी व्यवसायीहरुको विकास तथा प्रवद्धर्नका लागि प्रशासनको पनि महत्वपूर्ण भूमिका रहने भन्दै प्रशासक नभई व्यवसायीको सेवक भएको बताए । विगत आफूले अहिले पनि व्यवसायीहरुको लागि सहयोगी भूमिका खेलेको उदाहरण पनि दिए ।

भक्तपुरका एक व्यवसायी विश्वराम कवाँंले सरकारले निर्धक्क भएर व्यवसाय सञ्चालन गर्न पाउने वातावरण मिलाउनुपर्ने भन्दै सरकारले शान्ति सुरक्षालाई चुस्त दुरुस्त पार्नुपर्ने बताए । उनले जिल्लाका व्यवसायीहरुको विकासका लागि सिडिओ पोखरेलले महत्वपूर्ण भूमिका लेखेको उदाहरणहरु दिए ।

भक्तपुर ट्रक व्यवसायी संघका अध्यक्ष महेन्द्र खायमलीले यातायात दुर्घटना हुँंदा यातायात व्यवसायीहरुले पेलेरै क्षतिपूर्ति तिर्नुपरेको तर्क गरे । भक्तपुर इटा उद्योग व्यवसायी सघका अध्यक्ष नातिभाइ ह्योग्बाले नियमसंगत रुपमा उद्योग चलाउँंदा पनि व्यवसायीहरुमाथि नानाथरीको आरोप लाग्ने गरेको बताए ।

Advertisement

Advertisement

Advertisement