यातायात व्यवसायी महासंघका अध्यक्षसहित अन्य पदाधिकारी पनि पक्राउ

Advertisement

काठमाडौंः प्रहरीले राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यसहित थप पाँच पदाधिकारीलाई शनिबार साँझ पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा कर्माचार्यबाहेक चार उपाध्यक्षहरु किरण खड्का, धर्म धिमाल, विजय स्वाँर र बसन्त भण्डारी रहेका छन् । महासचिव सरोज सिटौलासहित दर्जनौं पदाधिकारीलाई शुक्रबार पक्राउ गरिएको थियो ।

सिण्डिकेट प्रणाली कायम राख्नुपर्ने पक्षमा उनीहरुले यातायात जस्ता अत्यावश्यक सेवा बन्द गरेर हडतालमा उत्रिएपछि सरकार उनीहरुविरुद्ध कडारुपमा प्रस्तुत भएको हो ।

अत्यावश्यक सेवामा अवरोध पुर्याएको भन्दै कर्माचार्यसहित महासंघका पदाधिकारीलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

महाशाखाका प्रमुख धिरजप्रताप सिंहका अनुसार पक्राउ परेकाहरुलाई महाशाखाको हिरासतमा राखिएको छ । पक्राउ परेका सबैलाई अत्यावाश्यक सेवा ऐनअनुसार कारबाही अघि बढाउने प्रहरीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement