नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोको जोखिम बढ्यो

Advertisement

चितवनः सामान्य पानी पर्दासमेत नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्न थालेपछि यात्रामा जोखिम बढेको छ । गएको एक सातामा दैनिक पहिरो खस्दै आएको छ । एकै दिनमा साना ठूला गरी चार वटासम्म पहिरो खसेको जनाइएको छ ।

पानी पर्दा हिलो र सुख्खा हुँदै गएपछि सुख्खा पहिरो खस्न थालेको नारायणगढ–मुग्लिन सडक आयोजनाका डिभिजनल इञ्जिनियर गोविन्द खनालले बताए । सडक विस्तारका क्रममा भित्तो काटिएको ठाउँ र डढेलो लागेर सुख्खा भएको ठाउँमा पानी परेसँगै पहिरो खस्ने गरेको उनले जानकारी दिए ।

सो सडकखण्डलाई तीन भागमा विभाजन गरेर विस्तार गरिँदै छ । तेस्रो खण्ड अर्थात् मुग्लिन नजिकै सुप्रिम रौताहा जेभीले सडक विस्तारको काम गरिरहेको छ । धेरै पहाड भएकाले सो ठाउँमा धेरै पहिरो खस्ने गरेको छ । जेभीका साइड इञ्चिार्ज राजन दाहालका अनुसार शनिबार बिहान चारकिलो भन्ने स्थानमा ८ बजे खसेको पहिरो दिउँसो ३ बजेमात्रै पन्छाउन सकिएको थियो । बिहान तत्काल एकतर्फी बनाएका कारण र सवारीसाधन कम भएकाले ठूलो समस्या नआएको उनले बताए ।

दिउँसो ४ बजे चोरखोलामा पहिरो खसेपछि एक घण्टा ३० मिनेट पहिरो पन्छाउन लागेको उनले जानकारी दिए । शुक्रबार अठ्ठाइस किलो, चोरखोला र कालीखोलामा पहिरो खसेको थियो । एक ठाउँको पहिरो हटाउन आधा घण्टादेखि एक घण्टासम्म समय लागेको थियो । बुधबार र बिहीबार पनि तीन चार ठाउँमा साना पहिरो खसेको दाहालले बताए ।

सडकका अन्य भागमा पनि सानातिना पहिरो खस्ने क्रम शुरु भएको छ । डिभिजनल इञ्जिनियर खनालले चाँडै नै वर्षात् शुरु भएमा समस्या आउन सक्ने बताए । सडक विस्तारको काम भइरहेको र पहिरो रोक्ने काम शुरु भएकाले चाँडै नै वर्षात् हुुँदा काम नै प्रभावित हुने उनको भनाइ थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तले विगत एक साता यता पहिरो र ढुंगा खस्न थालेको र कतिपय ठाउँमा प्रहरीले ढुंगा पन्छाएर सवारी साधन सञ्चालन गराएको बताए । दैनिकजसो साना ठूला पहिरो र ढुंगा खसेको भन्दै उनले चालकलाई एक अर्को सवारी साधनको बीचमा दूरी राखेर सवारी चलाउन, अगाडि हेरेरमात्रै जान, बाटोको अवस्था बुझेर हिँड्न, उछिन्र नजान आग्रह गरिएको बताए ।

गतवर्ष असार ८ गते राति कालीखोला नजिकै पहिरोमा प्रहरी भ्यान पर्दा चारजना प्रहरीको मृत्यु भएको थियो । वर्षाद् हुनुअघि गतवर्ष पनि समय समयमा सुख्खा पहिरो खसेसँगै कतिपय सवारी साधनमा क्षति पुगेको थियो भने यात्रुले दुःख पाएका थिए ।

Advertisement

Advertisement

Advertisement