गृहमन्त्रीको निर्देशनमा विवादास्पद क्यासिनोमा छापा, होटल अन्नपूर्णलाई नेपाल ट्रष्टमा गाभ्न दबाब

Advertisement

काठमाडौंः प्रहरीले दरबारमार्गमा रहेको विवादास्पद क्यासिनो प्यालेसमा छापा मारेको छ । यसअघिको क्यासिनो अन्ना र त्यसमा कार्यरत नौसयभन्दा बढि मजदुरको व्यवस्थापन नगरी संसदीय समिति र अदालतको निर्देशनविपरित खोलिएको क्यासिनो प्यालेसमा छापा मारिएको हो ।

क्यासिनो अन्नाका पीडित मजदुरहरुले न्यायका लागि संघर्ष गरिरहेको बेला अन्नपूर्ण होटलकी सञ्चालक सिर्जना राणाले जबरजस्ती पैसाको बलमा नयाँ क्यासिनो खोलेर पूराना मजदुरहरुलाई बिचल्ली बनाउने काम गरेकी थिइन ।

तत्कालिन राजपरिवारका सदस्यहरुले सञ्चालन गर्दै आएको होटल अन्नपूर्ण दरबार हत्याकण्डपछि स्वतः नेपाल ट्रष्टमा जानुपर्नेमा सिर्जना राणा र उनका पतिले जालझेल गरी आफ्नो बनाउन सफल भएका थिए । उक्त होटल सम्पूर्णरुपमा नेपाल ट्रष्टको नाममा जानुपर्नेमा तत्कालिन मुख्यसचिव लीलामणि पौडेलले राणाको स्वार्थअनुसार १० प्रतिशत सेयर मात्रै ट्रष्टको र बाँकी राण सम्पत्तिको हुने व्यवस्था गरिदिएका थिए ।

होटल अन्नपूर्ण तत्कालिन राजपरिवारका सदस्यको रहेको तथ्य पछिल्लो समयमा खुल्दै गएपछि यसलाई ट्रष्टको नाममा राख्न दबाब बढ्दै गएको छ । सोही होटल मातहत लामो समयदेखि सञ्चालित क्यासिनो अन्नाका ९२२ जना मजदुरले लामो समयदेखि काम गरेको पारिश्रमिक, सञ्चय कोष, उपदानलगायत कुराहरु माग गर्दै आएकोमा होटल व्यवस्थापनले उनीहरुलाई बेवास्ता गर्दै नयाँ क्यासिनो खोल्ने काम गरेको छ ।

पूर्वपर्यटनमन्त्री जितेन्द्र देवले राणासँग मोटो रकम लिएर नयाँ क्यासिनो खोल्न अनुमति दिने काम गरेको अन्नाका मजदुरहरुले गुनासो गर्दै आएका छन् । प्रहरीले छापा मारेर क्यासिनो प्यालेसमा रहेका सबै सामग्री नियन्त्रणमा लिएको छ । तरुण खट्टर, बलदेवराज अरोरा, आशिष गुलाटी, आनन्द एडकसहित १८ भारतीयले उक्त क्यासिनोमा जनही १० करोडका दरले पैसा लगाएको जनाइँदै आएको छ ।

श्रीनिवासन नामको कम्पनी खोलेर अर्का नेपाली क्यासिनो दलाल विनय शाह तेलीसहित लालकिशोर शाह तेली सो कम्पनीको अध्यक्ष भनी उल्लेख गरिएको थियो । प्रत्यक्ष वैदेशिक लगानीको रुपमा लगानी नभएको उक्त क्यासिनोको लगानीको स्रोतमा प्रश्न उठ्दै आएको थियो ।

हुण्डीमार्फत ल्याइएको रकम क्यासिनो खोल्न तथा अन्य अवैध कारोबारमा खर्च गर्ने काम भएको विभिन्न सञ्चार माध्यमहरुका समाचारमा उल्लेख हुँदै आएको छ । पैसाको बलमा राणामाथि क्यासिनो अन्नाको १६ करोड रुपियाँभन्दा बढि राजश्व र मजदुरहरुलाई तिर्नुपर्ने ३३ करोड रुपियाँभन्दा बढिको दायित्व हुँदाहुँदै नयाँ क्यासिनो खोलेर पूरानो दायित्वबाट मुक्त हुने प्रयास गरेकी हुन ।

नेपाल प्रहरीको अपराध महाशाखाले शुक्रबार राति छापा मारेर कम्प्युटर, ल्यापटप, महत्वपूर्ण कागजात र अवैधरुपमा सञ्चालित १२ वटा सञ्चार सेट बरामद गरेको छ ।

विनय साह तेलीसहित अन्य सञ्चालक भने प्रहरी छापा मार्न आउने पूर्वसूचना पाउनासाथै फरार भएका छन । छापामा संलग्न टोलीले सो क्यासिनो प्यालेसलाई एफआईडी स्वीकृतिको पत्रसहित उपस्थित हुन निर्देशन दिएको छ ।

त्यसैगरी, प्रहरीले धरानस्थित होटेल साथीले सञ्चालन गरेको क्यासिनोमा आइतबार अपराह्न छापा मार्दा नेपालमा चलनचल्तीमा नरहेको दशलाख पाँच हजार भारतीय मुद्रा बरामद भएको छ ।

होटेलको क्यासिनोमा छापा मारेर नेपालमा चलनचल्तीमा नरहेका पाँचसय र दुई हजार दरका भारतीय मुद्रा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर बुढामगरले जानकारी दिए । प्रहरीले साथी होटेलका व्यवस्थापक सुजन दाहाललाई पक्राउ गरेको छ ।

बरामद भएको भारु आन्तरिक राजश्व अनुसन्धान विभागमा पठाउने तयारी गरिएको छ । उक्त होटेलमा ‘किंग्स लञ्ज ग्यामिङ क्लब’ नामको क्यासिनो सञ्चालनमा रहेको छ ।

Advertisement

Advertisement

Advertisement