आधुनिक कतारको निर्माणमा नेपाली नागरिकको योगदान महत्वपूर्णः राजदूत युसुफ

Advertisement

पोखराः नेपालस्थित कतारका राजदूत युसुफ बिन महमद अलहेलले आधुनिक कतारको निर्माणमा नेपाली नागरिकको योगदान महत्वपूर्ण रहेको बताएका छन् ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ भिडाबारीस्थित बराह माविद्वारा आज आयोजित सम्मान कार्यक्रममा उनले नेपाली नागरिकले कतारमा पुर्याएको योगदान अविष्मरणीय भएको बताए ।

नेपाली नागरिकको योगदानको कारणले नै नेपाल र कतारबीचको सम्बन्ध प्रगाढ रहेको उल्लेख गर्दै राजदूत युसुफले नेपालको विकासमा कतार सधैँ तयार रहेको बताए ।

कतारमा रोजगारीमा रहेका पाँच लाख नेपाली नागरिकबाट वार्षिक दुई खर्ब डलर विप्रेषण नेपाल भित्रिने गरेको बताउँदै उनले नेपालसँग सहमति भएअनुुसार नेपाल र कतारले वाणिज्य क्षेत्रमा समेत संयुक्त रुपमा काम गर्ने बताए ।

अभिभावकलाई आफ्ना बालबालिकालाई विद्यालय पठाउन आग्रह गर्दै उनले कुनै पनि देशका नागरिकका लागि शिक्षा अपरिहार्य रहेको बताए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र गौतम, अकबल अहमद शाह, अलि मिहान द्रादी, माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङ, विद्यालयका प्रधानाध्यापक नरबहादुर गुरुङलगायतले आ–आफ्ना धारणा राखेका थिए ।

विसं २०२४मा स्थापित बराह माविमा सिटिइभिटीबाट मान्यता प्राप्त प्राविधिक शिक्षातर्फ भेटेनरी र कृषि विषयको अध्यापन हुँदै आएको छ ।

विद्यालयमा हाल ३७० जना विद्यार्थी अध्ययन गर्दै आएको र यो वर्ष विद्यालयले स्वर्ण महोत्सव वर्षका रुपमा मनाएको विद्यालयका प्रधानाध्यापक नरबहादुर गुरुङले जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement