धावन मार्ग पर्याप्त नहुँदा विमान अवतरण गराउन समस्या

Advertisement

चितवनः भरतपुर विमानस्थलको धावन मार्ग पर्याप्त नहुँदा ठूला विमान अवतरण गराउन समस्या भएको छ । विसं २०१८ मा निर्माण भएको विमानस्थलमा यात्रुको चाप बढ्दै गए पनि विस्तार हुन नसक्दा समस्या भएको हो ।

यात्रुको चाप बढ्दै जाँदा धावनमार्गका कारण विमान कम्पनीले ठूला विमान यहाँ अवतरण गर्न सकेका छैनन् । थोरै यात्रु क्षमताका विमानमा यात्रा गर्नुपर्दा यात्रीले महँगो भाडा तिर्नु परेको छ । उनीहरुले समयमा टिकट नपाउने समस्या समेत झेल्दै आएका छन् ।

धावन मार्गको पूर्वतर्फ मापदण्ड विपरीतका संरचना निर्माण भएका कारण हाल रहेको धावनमार्गको पूरै प्रयोग गर्न विमान चालकले सकिरहेका छैनन् । एक हजार २०० मिटर लामो धावनमार्गमा एक हजार मिटरमात्रै प्रयोग गर्नुपर्ने बाध्यता रहेको चालकले बताएका छन् ।

यति एयरलाइन्स भरतपुरका प्रबन्धक राजेश सिंहले कम्पनीको ३० सिट क्षमताको जेटस्टिम विमानले धावन मार्ग छोटो भएका कारण २३ जनासम्म यात्रु बोक्दै आएको बताए । उनले अहिले प्रयोग भइरहेको धावन मार्गको अवतरण क्षेत्रमा बनाइएका संरचनाका कारण पूरै धावन मार्गको प्रयोग हुन नसक्दा समस्या भएको बताए ।

बुद्ध एयरलाइन्स भरतपुरका प्रबन्धक भक्त बस्नेतले धावन मार्ग छोटो हुनु र विमान अवतरण क्षेत्रमा मापदण्ड विपरीतका संरचनाका कारण क्षमताअनुसारको यात्रु बोक्न समस्या हुने गरेको बताए ।

बुद्ध एयरलाइन्सले ४७ सिट क्षमताको एटिआर ४२ मार्फत उडान गर्दै आएको छ । ठूला जहाज अवतरण नहुँदा एक दिनमा ११ वटासम्म उडान गर्नुपर्ने बाध्यता रहेको बस्नेतको भनाइ छ । उनले ठूला जहाज अवतरण गर्न सकिएमा थोरै उडानले सस्तो भाडादरमा सेवा दिन सकिने बताए ।

काठमाडौँबाट ५० नटिकल माइल दूरीमा रहेको भरतपुर विमानस्थलमा उडान भर्दा यात्रुले तीन हजार ६०० भाडा तिर्न पर्छ । बढ्दो शहरीकरण, हवाईचापमा वृद्धि र पर्याप्त जग्गाको अभावका कारण विमानस्थल साँघुरो बन्दै गएको भरतपुर विमानस्थल कार्यालयका प्रमुख पवनकुमार गौतमले बताए ।

विमानस्थल साँघुरो बन्दै गएपछि क्षेत्र बढाउन प्रयास भएपनि विस्तारका लागि प्रभावकारी पहल हुन सकेको छैन । विमानस्थल नजिकै नेपाली सेनाको घोडा फार्म रहेको क्षेत्रको माग गरिएपनि सेनाले अनुमति नदिएको गौतमको भनाइ छ । विसं २०७२ मा सेनासँग जग्गा माग गर्दै पत्र पठाएपनि दिन नसक्ने जानकारी गराएको उनले बताए ।

Advertisement

Advertisement

Advertisement