धनगढी विमानस्थल स्तरोन्नतिमा ढिलाई

Advertisement

कैलालीः धनगढी विमानस्थलमा जग्गाधनीले मुआब्जा रकम नबुझ्दा विमानस्थल स्तरोन्नतिको काम ढिलो भएको छ ।
जग्गाधनीलाई मुआब्जा रकम बुझ्न सूचना जारी गरे पनि अटेरी गर्दा विमानस्थल स्तरोन्नतिको काम ठप्प भएको हो ।

विमानस्थल वरिपरिको जग्गा अधिग्रहण गरी विमानस्थल स्तरोन्नति गर्ने योजनामा जग्गाधनीले समस्या पारेका छन् ।
प्रशासनले पटकपटक जानकारी गराउँदा समेत जग्गाधनी नसुनेरै बसिरहेका छन् । जसका कारण काम रोकिएको मात्रै छैन स्तरोन्ततिमा समेत ढिलाइ भएको छ ।

जग्गाधनीले मुआब्जा रकम लिन आनाकानी गरेपछि जग्गा विमानस्थलको स्वामित्वमा आउन सकेको छैन । विमानस्थलको नाममा जग्गा भएपछि मात्र जापानी संस्था जाइकाले काम अगाडि बढाउने विमानस्थलका प्रमुख छबिसिंह ठकुल्लाले बताए ।

जिल्ला प्रशासन कार्यालय कैलालीका नायव सुब्बा राममूर्ति सिंहले जग्गाधनीलाई पटक पटक बोलाए पनि मुआब्जा रकम बुझ्न नआएको बताए ।यसअघि जग्गाधनीले मुआब्जा रकम कम भएको भन्दै गृह मन्त्रालयमा निवेदन हाले पनि गृहले भने जिल्लाकै निर्णय सदर गरेको थियो ।

उक्त विमानस्थलको स्तरोन्नतिका लागि वरपरका ८९परिवारको १७ बिघा जग्गा अधिग्रहण गरिएको थियो । जसमध्ये ७९ परिवारले मुआब्जा बुझिसके पनि बाँकी १० परिवारले आनाकानी गर्दा काममा अबरोध आएको हो ।

विमानस्थलले ऐनअनुसार प्रकृया चाल्न आग्रह गरेकाले अब ३ महिनाको सूचना जारी गर्ने र त्यसमा पनि अटेरी गरे मुआब्जा रकम स्वतः राज्यको सञ्चित कोषमा जम्मा हुने सिंहले जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement