पहिलो पुँजीबजार प्रदर्शनी सुरु, विचार गरेर लगानी गर्नुः अर्थमन्त्री, यो जुवाघर होइनः गर्भनर

Advertisement

काठमाडौंः पहिलो पटक बुधबारदेखि राजधानीको भृकुटीमण्डपमा पुँजी बजार प्रदर्शनी सुरु भएको छ । पुँजीबजारबारे सर्वसाधारण जनतालाई जानकारी गराउन नेपाल धितोपत्र बोर्डले आयोजना गरेको प्रदर्शनी बिहीबारसम्म चल्ने छ ।

भृकुटीमण्डपमा आयोजित प्रदर्शनी अर्थमन्त्री युवराज खतिवडा र नेपाल राष्ट्र बैंकका गर्भनर चिरञ्जीवी नेपाल एउटै मञ्चमा देखा परेका थिए । फरक राजनीतिक धारण दुवैबीच पछिल्लो समयमा सम्वन्ध राम्रो नभएको समाचारहरु बाहिर आइरहेका छन् ।

प्रदर्शनीमा मर्चेन्ट बैंक, स्टक ब्रोकर कम्पनी लगायतका एक सय भन्दा बढी स्टलहरु रहेका छन् । बोल्ने क्रममा पनि अर्थमन्त्री खतिवडा र गर्भनर नेपालले पुँजीबजारका बारेमा फरक धारणा राखेका थिए ।

खतिवडाले शेयर बजार भनेको जोखिमको व्यवसाय हो भन्दै जोखिम उच्च रहेको यस क्षेत्रमा विचार गरेर मात्रै लगानी गर्नुपर्ने बताए भने गभर्नर नेपालले पुँजी बजारलाई जुवा घर वा जोखिमयुक्त मात्रै भन्नु गलत भएको बताए ।

गर्भनर नेपालले बोल्दा ताली खाएका थिए भने अर्थमन्त्री बोल्दा लगानीकर्ता एवं व्यवसायीहरु मौन बसेका थिए । गर्भनर नेपालले पुँजी बजारको विकास विकास आर्थिक विकास असम्भव रहेको भन्दै यसलाई जुवा घरको रुपमा लिन नहुने बताएका थिए ।

उनले पुँजी बजारमा लगानी नगरेको मान्छे आधुनिक हुन नसक्ने भन्दै संसारका धेरै मुलुकहरु पुँजी बजारकै कारण विकसित भएको जनाए । पैसालाई व्यवस्थापन गर्ने र भविष्य सुरक्षित बनाउने आधार पुँजी बजार नै रहेको गर्भनर नेपालको तर्क छ ।

धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले पुँजी बजारबारे आमजनतालाई सुसुचित गर्न प्रदर्शनी आयोजना गरेको बताए ।

Advertisement

Advertisement

Advertisement