चार वर्षमा सबै स्थानीय तहमा सरकारी अस्पताल

Advertisement

काठमाडौंः संघीय सरकारले स्वास्थ्य सेवामा सर्वसाधारणको पहुँच वृद्धिका लागि आगामी चार वर्षभित्र सबै स्थानीय तहमा कम्तीमा एक सरकारी अस्पताल स्थापनाको लक्ष्य लिएको छ ।

नेपालको संविधानको मौलिक हकमा आधारभूत स्वास्थ्य सेवालाई समावेश गरिएको सन्दर्भमा सरकारको आउँदो नीति तथा कार्यक्रम र बजेटमा ‘एक स्थानीय तहः एक अस्पताल’ को कार्यक्रम आउने स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्माकुमारी अर्यालले जानकारी दिए ।

ती अस्पताल कम्तीमा १५ शय्याका हुनेछन् । स्वास्थ्य क्षेत्रमा चालु आर्थिक वर्षमा ४६ अर्ब रुपियाँ बजेट रहेकामा आगामी आर्थिक वर्षका लागि घटाएर ४२ अर्ब रुपियाँको सीमा दिइएको छ ।

उनले ७५३ वटै स्थानीय तहमा चार वर्षभित्र अस्पताल र सेवा पुर्याउन आवश्यक बजेट तर्जुमा गर्न पहल भइरहेको उल्लेख गर्दै उनले आधारभूत स्वास्थ्य सेवालाई वडा तहसम्म पुर्याइने बताए । हाल दुई हजार ३१२ वडा स्वास्थ्य इकाइबिहीन छन् ।

राज्यमन्त्री अर्यालले प्रदेश तहमा विशेषज्ञ अस्पताल स्थापना गरी एउटै स्वास्थ्य संस्थाबाट सबै प्रकारका उपचार गराइने व्यवस्था गरिने बताए । उनले स्थानीय तहलाई औषधि खरिदका लागि दिइएको रकम सदुपयोग गर्न तरिकामा अन्योल देखिएको वा कतिपय ठाउँमा रकमान्तर गरिएकाले स्वास्थ्य सेवा प्रभावित भएको पाइएको सुनाए ।

Advertisement

Advertisement

Advertisement