चौध करोडको लगानीमा कुखुराका चल्ला उत्पादन गर्ने ह्याचरी सञ्चालनमा

Advertisement

बनियानीः ब्रोइलर जातको कुखुराका चल्ला उत्पादन गर्ने उद्देश्यले ह्याचरी सञ्चालनमा आएको छ । मेची अञ्चलमै पहिलो पटक १४ करोड रुपियाँको लगानीमा ‘भाटभटेनी इन्टरनेशनल ह्याचरी प्रालि’ सञ्चालनमा आएको हो ।

चारजनाको संयुक्त लगानीमा ह्याचरी सञ्चालनमा ल्याइएको सञ्चालक भरत ओडारीले जानकारी दिए । झापासहित इलाम, तेह्रथुम, ताप्लेजुङ, मोरङ, सुनसरीलगायत जिल्लाका किसानलाई लक्ष्य गरी ह्याचरी सञ्चालनमा ल्याइएको हो ।

बिर्तामोड–२ स्थित वीर अमरसिंह माविको चार बिगाह दुई कट्ठा जग्गा भाडामा लिएर फार्म सञ्चालन गरिएको छ । त्यहाँदेखि करीब ३०० मिटर टाढा कनकाई–८ मा ह्याचरीको आफ्नै स्वामित्वमा रहेको एक बिगाह ११ कट्ठा जग्गामा चल्ला उत्पादन गर्ने मेसिनसहितको भौतिक संरचना तयार गरिएको अर्का सञ्चालक तारा प्रसाईंले बताए ।

ह्याचरी पूर्णरुपमा सञ्चालमा आएपछि हप्तामा ६० हजार चल्ला उत्पादन गर्न सकिने अर्का सञ्चालक निर्जा सिवाकोटीले बताए । क्षमता विस्तारका लागि थप तीन बिगाह १७ कट्ठा जग्गा खरिद गरिएको छ । हाल ह्याचरीमा चार हजार अण्डा पार्ने प्यारेन्स कुखुरा रहेका छन् । कुखुराले नियमित रुपमा ७५ हप्तासम्म अण्डा पार्छ । ह्याचरीबाट प्रतिवटा चल्ला ५० रुपियाँमा बिक्री गरिँदै आएको छ ।

Advertisement

Advertisement

Advertisement