संसदमा चौधरीले भने– सिद्धान्तका कुरा गरेर विकास हुँदैन, व्यवहारमा काम गरेर देखाउ

Advertisement

काठमाडौंः कांग्रेस नेता एवं सांसद विनोद चौधरीले नेपालको आर्थिक समृद्धिका लागि लगानी प्रवर्धनमा ध्यान दिन सरकारलाई आग्रह गरेका छन् ।

विहीबार संसदमा आर्थिक बर्ष २०७५÷०७६ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्वन्धी छलफलमा भाग लिँदै चौधरीले आन्तरिक एवं बाह्य लगानी वृद्धिबाट मात्रै आर्थिक समृद्धिको अभियान अगाडि बढाउन सम्भव हुने भएकाले यसतर्फ बजेटले बिशेष ध्यान पुर्याउनु पर्ने बताउ ।

उनले भने, ‘सिद्धान्तका कुरा मात्रै गरेर अर्थतन्त्रमा सुधार ल्याउन सकिदैन । सिद्धान्तका कुरा धेरै भए अब व्यवहारमा काम गरेर देखाउनुपर्ने समय आएको छ । बजेट कार्यान्वयन हुने प्रत्याभूतीका साथ ल्याइनुपर्छ । विगतमा जस्तो पुँजीगत खर्च नै नहुने अवस्थाको अन्त्य हुनुपर्छ ।’

तीनै तहको निर्वाचन सम्पन्न भएको र आर्थिक समृद्धिको अभियान अगाडि बढाउने जिम्मेवारीमा अर्थमन्त्री रहेको भन्दै सांसद चौधरीले भने, ‘अर्थमन्त्रीज्यू नयाँ सोंच र दृष्टिकोणका साथ बजेट तर्जुमा गर्नुस् । तपाईको सफलतासँग हाम्रो भविष्य गाँसिएको छ ।’

नेपालमा लगानी अभिवृद्धि गर्न विशेष आर्थिक क्षेत्र (सेज)को अवधारणालाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउन पनि उनले आग्रह गरे । चौधरीले भने, ‘चीन र भारतले सेजकै माध्यमद्वारा विश्वका लगानीकर्तालाई आकर्षित गर्न सम्भव छ भने नेपालले किन यसो गर्न सक्दैन ? सेजको नाम दिएर मात्रै हुदैन । सेजको मर्मअनुसार कार्यान्वयनमा ल्याउनुपर्छ ।’

नेपालको एक्लो बहुर्राष्ट्रिय उद्यमी समेत रहेका उनले सेजमा स्थापना हुने उद्योगलाई निश्चित रोजगारी उपलब्ध गराउने शर्तमा टयाक्स रिमिसनको सुविधा दिनुपर्ने बताए । लगानी आकर्षित गर्न भारत, चीन र युरोपियन राष्ट्रहरूले समेत अहिले लगानीकर्तालाई यो सुविधा दिइरहेको चौधरीले उदाहरण दिए ।

उनले भने, ‘यसो गर्दा कर छुट दिइरहनु पर्दैन । लगानीकर्तालाई निश्चित अवधीसम्म क्यापिटल फर्मेसनमा सुविधा दिए हुन्छ । लगानीकर्ताले पुँजी परिचालन गर्न पनि सहज हुने र सरकारले कर पनि पाउने यो व्यवस्था अहिले विश्वभर लोकप्रिय छ ।’

सरकारले आफै उद्योग धन्दा चलाउने नभई लगानीका लागि वातावरण बनाइदिने काम गर्नुपर्छ भन्दै चौधरीले सरकारले आफै उद्योग चलाउँदा के अवस्था हुन्छ भन्ने कुरा जनकपुर चुरोट कारखाना, बुटवट धागो कारखाना र हाल चलिरहेका नेपाल आयल निगम लगायतका सस्थानलाई हेर्दा प्रष्ट हुन्छ भने ।

उनले नेपालको निजी क्षेत्रका पनि कमजोरी छन् भन्दै यसको अनुगमन र उनीहरूलाई सही बाटोमा ल्याउने जिम्मेवारी सरकारको रहेको बताए । लगानी प्रवर्धन गर्न लगानी बोर्डको भूमिका प्रभावकारी बन्न आवश्यक रहेको चौधरीले बताए ।

लगानी आकर्षित गर्न नीति बनाउने, लगानी जुटाउने र यहाँ लगानी भइसकेकाहरूको समस्या सम्बोधन गर्ने जिम्मेवारीलाई लगानी बोर्डले प्रभावकारी रूपका कार्यान्वयन गर्न सक्नुपर्ने उनको भनाई छ । चौधरीले मन्त्रालयहरूसँग क्षेत्राधिकारको विवादमा रुमलिएर बस्न लगानी बोर्ड स्थापना गरिएको होइन भने ।

आर्थिक समृद्धि हासिल गर्न घडीको सूईको रफ्तारमा काम गर्न आवश्यक भएको भन्दै चौधरीले यसका लागि शासकीय सुधार गर्नैपर्नेमा जोड दिए । ‘आर्थिक समृद्धिका लागि सुशासनको दयनीय अवस्था चुनौतीका रुपमा रहेको छ । नीति, योजना र कार्यक्रमसँगै कर्मचारीतन्त्रको काम गर्ने शैलीमा परिवर्तन ल्याउन पनि उत्तिकै जरूरी छ ।’

Advertisement

Advertisement

Advertisement