'उर्जामा मात्रै आत्मनिर्भर भए व्यापार घाटा एक खर्बले घट्छ, ९.२५ प्रतिशतको आर्थिक वृद्धि हुन्छ'

Advertisement

काठमाडौंः उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले उर्जा र सिंचाईलाई मुलुकको आर्थिक समृद्धिको मुख्य आधार बनाउने प्रतिवद्धता जनाएका छन् ।

नेपाल चेम्बर अफ कमर्शले बिहीबार आयोजना गरेको कार्यक्रममा उनले उर्जा क्षेत्रको विकासका लागि लगानीमैत्री वातावरण बनाउने योजना अघि सारेको बताए । सुशासनको माध्यमबाट मुलुकलाई समृद्ध बनाउने सरकारको प्राथमिकता रहेको पुनले बताए ।

‘उर्जा क्षेत्रको वर्तमान अवस्था र चुनौतिहरु’ विषयक अन्तरक्रियामा मन्त्री पुनले मुलुकको आर्थिक क्षेत्रको विकासका लागि जलस्रोत चालक शक्तिको रुपमा रहेको बताए ।

उनले सुशासनलाई कायम राख्न सरकारले अधिकतम पहल गर्ने पनि बताए । पुनले विकास र समृद्धिका लागि प्राप्त अवसर सदुपयोग गरेर अघि बढ्ने भन्दै नेपालको आर्थिक समद्धिको लागि उर्जा र सिचाई नै मुख्य इन्जिन र मेरुदण्ड हुने बताए ।

उनले यतिबेलाको जस्तो स्थायित्व र अधिकार जनताबाट यसअघि प्राप्त नभएको भन्दै उर्जा र सिचाईको विकासमा यो समयलाई सुनौलो युगमा परिवर्तन गर्न सकिन्छ भने ।

बिगतका उर्जामन्त्रीहरुले भने जस्तो ‘बिपक्षीले काम गर्न दिएन’ भन्ने छुट वर्तमान उर्जामन्त्रीलाई नभएको भन्दै पुनले उर्जा क्षेत्रमा आत्मनिर्भरता हाँसिल गर्ने अभियानमा निजी क्षेत्रलाई साथ दिन समेत अपिल गरे ।

देश उर्जामा मात्रै आत्मनिर्भर भयो भने देशको करिब एक खर्ब व्यापार घाटा कम हुने र त्यसको सकारात्मक प्रभाव सबै क्षेत्रमा पर्दै राष्ट्रको ९.२५ को आर्थिक वृद्धि हाँसिल गर्ने महत्वकांक्षा पूरा हुने कुरा समेत उनले उल्लेख गरे ।

त्यसअघि चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले उर्जा मन्त्रालयले बुधबार सार्वजनिक गरेको स्वेतपत्रमा उल्लेख गरिएका कुराहरु पुरा गर्न निश्चित समय सीमा तोकेर कडाईका साथ अघि बढ्नुपर्ने बताए ।

बंगलादेश, भारत, नेपाल नामक फोरमको अत्यधिक सदुपयोग गरी नेपालको उर्जा विकास र निर्यातमा देशले फड्को मार्न सकिने भन्दै उनले भारत र नेपालको उर्जा आवश्यकता र संकटलाई ध्यानमा राखेर उर्जा बैंकको स्थापना गर्न समेत सुझाव दिए ।

Advertisement

Advertisement

Advertisement