सल्यानमा सीपमूलक तालिम प्रभावकारी बन्दै

Advertisement

सल्यानः घरेलु तथा साना उद्योग विकास समिति शाखा कार्यालय सल्यानले सञ्चालन गरेको सीप विकास तालिम समुदायमा आयआर्जन गर्न निकै प्रभावकारी बनेको समितिले जनाएको छ । कार्यालयले समुदायको मागका आधारमा तालिमहरु यस्ता तालि सञ्चालन गर्दै आएको छ ।

हस्तकलाबाट निर्मित सजावटका सामान निर्माण, होटल व्यवस्थापन, क्रिष्टल गहना, फेव्रिक माला, एड्भान्स व्युटिपार्लर, सिलाई कटाई, मौरी पालन, वेसिक व्युटिपार्लर, वाँसजन्य सामान निर्माण जस्ता तालिम निकै प्रभावकारी बनेको तथ्याङकले सिद्ध गरेको समितिले जनाएको छ ।

यस्तो तालिम लिएका महिलाहरु आत्मनिर्भरतर्फ उन्मुख भएका छन् । तालिमको माग दिन प्रतिदिन बढ्दै गएको घरेलु कार्यालयका वरिष्ठ उद्योग अधिकृत प्रदीप न्यौपानेले बताए । सल्यानका १० स्थानीय तहमा समुदायको माग अनुसार स्थानीय सरकारसँग सहकार्य गर्दै सीप विकास तालिम सञ्चालन गरिएको भन्दै उनले प्रत्येक तालिम १० जनालाई दिने लक्ष्य कार्यालयको भए पनि १२ देखि १८ जनालाई दिने गरेको बताए ।

सीप विकास तालिमका माध्यमबाट महिलाका साथै पुरुषले पनि फाइदा लिने गरेको समितिले जनाएको छ । होटल व्यवस्थापनसँग सम्वन्धित कुकिङ तालिम सल्यानमा निकै प्रभावकारी भएको होटल व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष विकास डिसी बताउँछन् । आफनै घर आगमनमा घरेलु तथा साना उद्योग विकास समिति सल्यानले निःशुल्क रुपमा तालिम दिएपछि यति बेला व्यवसायमा ठूलै परिवर्तन आएको उनले बताए ।

विगतमा घरेलु कार्यालयबाट आधारभूत सीप सिकेर व्यवसाय सञ्चालन गर्दै आएकालाई एड्भान्स व्युटिपार्लर तालिमपछि व्यवसायमा ठूलै सुधार आएको छ । एड्भान्स तालिम सिकेपछि आफूले सहजरुपमा आम्दानी गर्न सक्ने भएको बताउछिन प्रशिक्षार्थी हिरा श्रेष्ठ ।

एड्भान्स व्युटिपार्लर तालिममा थे्रडिग सेफ, जुरो, विभिन्न स्टाइलका कटिङ, फेसियल, कपाल स्ट्रेट, पम्प, मेकप, कपालको कलर गर्ने, नेलआर्ट, हेयर इस्टेशनलगायतका विषयहरु सिकाएको प्रशिक्षक सुनिता रानामगर बताउछिन् । प्रशिक्षार्थीलाई एक महिनामा तीन महिनाको कोष सिकाइएको भन्दै उनले तालिममा सहभागीले व्यवसाय गर्न सक्षम भएको बताइन ।

बागचौर नगरपालिका २ की निर्मला पुन हस्तकलाबाट निर्मित सजावटका सामानहरु सिक्न पाउँदा निकै खुसी भएको बताउँछिन् । घरेलु तथा साना उद्योग विकास समिति र वागचौर नगरपालिकाको संयुक्त आयोजनामा सञ्चालन भएको यस तालिमबाट सिकेको सीपलाई सहजरुपमा प्रयोग गर्दा राम्रो आम्दानी गर्न सकिने भन्दै उनले तालिमपछि व्यवसायी बन्ने चाहना रहेको बताइन ।

हस्तकलाबाट निर्मित सजावटका सामान निर्माण तालिमका प्रशिक्षक रिता पन्तले तालिममा सहभागीलाई आफूले राम्रोसँग सीप सिकाएकोले उनीहरु आगामी दिनमा सक्षम व्यवसायी बन्ने दावी गरिन । तालिमका अवधिमा कुसन, उनका विभिन्न सजावटका सामान, फेव्रिक पेन्टिङ, सिलाई कटाई, कटिङ डिजाइन सिकाएको बताउँदै प्रशिक्षक पन्तले भनिन, ‘सिकेको सीपलाई प्रयोगमा ल्याउँदा कम लगानीमा धेरै आम्दानी गर्न सकिने छ । घरमै फुसदको समयमा हस्तकलाबाट निर्मित सजावटका सामान निर्माण गर्न सकिने भएकाले पछिल्लो समयमा यस्ता तालिमको माग सल्यानका स्थानीय तहमा बढ्दै गएको छ ।’

कमला डाँगीले श्रीनगरमा व्युटि पार्लर सञ्चालन गर्दै आएकी छन् । काठमाडौंमा तालिम सिकेको भए पनि तत्काल व्यवसाय सञ्चालनका लागि सिकेको सीपलाई व्यवहारमा प्रयोग नगर्दा बिर्सेको भन्दै उनले अहिले व्यवसाय नै सुरु गरेको समयमा यसलाई लागू गरेर मनग्य आम्दानी गर्न आफू सफल भएको बताउँछिन ।

घरेलु कार्यालयबाटै क्रिष्टलको गहना, फेव्रिक माला र व्युटिसियन तालिम लिएकी कमलाले यतिबेला सल्यानमा उदाहरणीय महिला बनेर देखाएकी छन् । घरेलु समितिको कार्यालयले निःशुल्क सीप सिकाउनुका साथै ८० प्रतिशतसम्म अनुदानमा प्रविधिहरुसमेत हस्तान्तरण गर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement