मोदी आज आउँदै, यस्तो छ भ्रमण तालिका

Advertisement

काठमाडौंः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुईदिने औपचारिक भ्रमण आज शुक्रबार सुरु हुँदैछ । प्रधानमन्त्रीका रुपमा तेस्रो पटक नेपाल भ्रमण गर्न लागेका मोदी काठमाडौं नआई जनकपुरबाट नेपाल भ्रमण गर्न लागेका हुन् ।

पहिलो नेपाल भ्रमणका क्रममा संसद गरेको सम्बोधनबाट निकै राम्रो प्रशंसा बटुलेका मोदीले धेरै लामो समय टिकाउन सकेनन् । नेपालको नयाँ संविधानप्रति असन्तुष्टि जनाउँदै अघोषित नाकाबन्दी गरेपछि उनको नेपालमा चर्को आलोचना भयो ।

दोस्रो पटक सार्क शिखर सम्मेलनमा नेपाल आएका मोदी अहिले नेपाला सत्तारुढ दलहरु एमाले र माओवादी केन्द्रहरु एक हुने बताइरहेको बेला नेपाल भ्रमण हुन लागेको छ । कम्युनिष्टहरुको झण्डै दुईतिहाई बहुमतको सरकारलाई चीनसँग नजिकिन नदिन पनि यस भ्रमणले काम गर्ने अनुमान गरिएको छ ।

मोदीले नेपाल भ्रमणको पूर्वसन्ध्यामा ‘ट्विट्’ गर्दै लोकतन्त्रका उपलब्धिलाई संस्थागत गर्न तथा आर्थिक समृद्धि हासिल गर्ने नयाँ युगमा प्रवेश गरेको नेपाललाई अटल साझेदारका रुपमा भारत प्रस्तुत हुन चाहेको बताएका छन् ।

उनले ‘समृद्ध नेपाल र सुखी नेपाली’को नेपाल सरकारको परिकल्पना साकार पार्न सबल साझेदार हुने इच्छा पनि देखाएका छन् । मोदीले नेपालसँगको सम्बन्धलाई भारतले उच्च महत्व दिएको भन्दै यस सम्बन्धलाई थप प्रगाढ तुल्याउन आफ्ना समकक्षी ओलीसँग सघन वार्ता गर्ने बताएका छन् ।

धार्मिक नगरी जनकपुर र मुक्तिनाथको समेत यात्रा गर्ने योजनामा रहेका मोदीको यस भ्रमणले नेपालमा धार्मिक पर्यटन प्रवद्र्धनमा सहयोग पुग्नुका साथै आर्थिक सहयोगको घोषणा, अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्यास, रेलमार्ग निर्माणका विषयमा समेत सम्झौता हुने अनुमान गरिएको छ ।

यस्तो छ मोदीको भ्रमण तालिका
वैशाख २८ गते शुक्रबार
बिहान ९ः १५ बजे– हेलिकोप्टरबाट जनकपुरमा अवतरण।
९ः ३०– जानकी मन्दिरमा पूजा।
१०ः १५– बाह्रबिघा मैदानका लागि प्रस्थान। नागरिक अभिनन्दनमा सहभागी र सम्बोधन।
१ः ३०– हेलिकोप्टरबाट काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरण, बौद्धस्थित हायात होटलमा प्रस्थान।
४ः ००– गार्ड अफ अनरका लागि चावहिल, गौशाला, एयरपोर्ट, तीनकुने, बानेश्वर हुँदै सैनिक मञ्च टुँडिखेलका लागि प्रस्थान।
४ः ३५– उपराष्ट्रपति नन्दबहादुर पुनसँगको भेटका लागि बहादुर भवन निवासमा।
५ः ००– राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट्न शीतल निवासमा।
६ः ००– महाराजगञ्ज, चावहिल, गौशाला हुँदै द्वारिकाज होटलमा पुग्ने। त्यहाँ विभिन्न दलका नेताहरुसँग भेटघाट।

बैशाख २९ गते शनिबार
बिहान ६ः ००– मुक्तिनाथ जानका लागि विमानस्थल प्रस्थान।
८ः ३०– मुक्तिनाथमा पूजा।
१०ः ३०– मुक्तिनाथबाट काठमाडौं फिर्ता।
१०ः ४०– विमानस्थलबाट दर्शनका लागि सीधै पशुपतिनाथ मन्दिर प्रस्थान।
११ः ३०– होटल हायात प्रस्थान।
२ः ००– महाराजगञ्ज, चावहिल हुँदै राष्ट्रिय सभागृहका लागि प्रस्थान।
३ः ३०– नागरिक अभिनन्दन, नेपालका प्रधानमन्त्रीसँग संयुक्त पत्रकार सम्मेलन तथा अरुण तेस्रोको उद्घाटन गरी बानेश्वर, तीनकुने हुँदै स्वदेश फिर्ताका लागि त्रिभुवन विमानस्थल प्रस्थान

Advertisement

Advertisement

Advertisement