कतार च्यारिटीको सहयोगमा तराईका बाढी पीडितलाई एक करोडको राहत सामग्री

Advertisement

काठमाडौंः तराईका बाढी पीडित सयौं परिवारलाई जस्तापाता तथा शैक्षिक सामग्री वितरण गरिएको छ । अरब मुलुकको सबैभन्दा ठूलो गैरसरकारी संस्थामध्येको एक संस्थाले बाढी पीडितहरुलाई उक्त सहयोग प्रदान गरेको हो ।

कतारको सामाजिक संस्था कतार च्यारिटीको सहयोगमा नेपालको ग्रामीण विकास केन्द्र (आरडिसी)ले उक्त सामग्री वितरण गरेको हो।

गत बर्ष मात्रै नेपालमा आफ्नो कार्यक्षेत्र विस्तार गरेको कतार च्यारिटीले रौतहट, सर्लाही लगायतका स्थानका बाढी पीडित परिवारलाई करिब करोड रुपियाँ बराबरको जस्तापाता तथा शैक्षिक सामग्री वितरण गरेको छ ।

सो संस्थाले उनीहरुहरुलाई अस्थायी बासबाट स्थायीतर्फ उन्मुख गर्ने उदेश्यले ६३८ परिवारलाई प्रति बन्डल एक किलो छाप्रावाल किलाका साथमा जस्तापाता वितरण गरेको हो । त्यस्तै, विद्यालय भर्नामा सहयोग तथा विद्यालयमा नियमित उपस्थित गराउनका लागि दुई हजार विद्यार्थीहरुलाई शैक्षिक सामग्री बितरण गरेको छ ।

कतार च्यारिटीको सहयोगमा यमुनामाई उच्च माध्यमिक विद्यालय झुन्खुन्वामा अध्यनरत एक हजार छात्रछात्रा तथा किसान, आधारबुत राजपुरमा ३५० जना, मलंगवामा २२१ जना, इश्वरपुरमा १७८ जना, हरिपुरवामा १०१ जना, जामिया मदिनतस्स्लाम मदर्शाका १५० बिद्यार्थीहरुलाई कपी, कलम, पेन्सील, स्कुल ब्यागसहितका करिब २४ लाख रुपियाँ बराबरका शैक्षिक सामग्री समेत प्रदान गरिएको छ।

गत साउन महिनामा आएको भीषण बाढीमा परि घरबारविहीन भएका रौतहट दुर्गाभगवती बडरुवाका ७० परिवारलाई एक किलो छाप्रावाल किलाका साथमा प्रतिपरिवार एक बन्डल जस्तापाता समेत वितरण गरिएको छ ।

त्यस्तै, यमुनामाई गाउँपालिकाका ७०, राजपुर नगरपालिका हजमिनिया गाउँका १८५, परोहा नगरपालिकाका १२५ तथा गौर नगरपालिकाका १५० परिवारलाई समेत जस्तापाता वितरण गरिएको छ।

च्यारिटीका कन्ट्री डाइरेक्टर मौलाए अब्दुल अजिज अल अलावी, प्रदेश नम्बर २ का कृषि तथा भूमिसुधार मन्त्री योगेन्द्र यादवसहित जिल्लास्तरीय कार्यालय प्रमुखहरु तथा स्थानीय जनप्रतिनिधिहरुको उपस्थितिमा उक्त सामग्री वितरण गरिएको हो।

कतार च्यारिटी नेपालका कन्ट्री डाइरेक्टर अब्दुल अजिजले गरिब तथा जोखिममा परेका बालबालिकाहरुलाई सहयोग गर्न कतार सरकार सधैं तयार रहेको बताए। उनले नेपालको विकास निर्माणदेखि लिएर शैक्षिक क्षेत्रमा सहयोग गर्न सधैं तयार रहेको भन्दै उनले यो सुरुवात मात्र हो, भने ।

कतार च्यारिटीका कन्ट्री म्यानेजर इर्शाद शेखले बाढीका कारण सबैभन्दा बढी प्रभावित भएको रौतहट कम साक्षरता भएको जिल्लासमेत भएकाले त्यहाँका बिद्यार्थीहरुलाई प्रोत्साहन गर्न शैक्षिक सामग्री वितरण गरिएको बताए ।

गएको साउन अन्तिम साता आएको विनाशकारी बाढीले रौतहटको ८० प्रतिशत भुभाग जलमग्न बनाउँदा हजारौ विस्थापित भएका थिए । बाढीका कारण सम्पत्ति र घरवार बिहीन भएकाहरुको स्थिति अझै पनि दयनीय रहेको बताइएको छ ।

आरडीसीका अध्यक्ष पारस हुसेनले बाढी आएको एक वर्ष हुन लाग्दा र अर्को वर्षायाम सुरु हुने समय भइसक्दा पनि सुरक्षित बास नपाएका परिवारलाई जीवन धान्न गाह्रो भएको भन्दै कतार च्यारिटीको सहयोगमा वितरण भएको सहयोगले पीडितलाई केही राहत मिलेको बताए ।

कतार च्यारिटीले विश्वका करिव ३० भन्दा बढी मुलुकमा आफ्ना विकास निर्माण कार्यहरु सञ्चालन गर्दै आइरहेको छ । स्थापनाकालदेखि नै विश्वव्यापी गरिबीसँग लड्नका लागि मानविय सहायता र दिगो विकास कार्यक्रमहरु सञ्चालन गर्दै आएको यो संस्था र समाज कल्याण परिषदबीच पाँच बर्षे एकीकृत विकास परियोजना सम्झौतामा हस्ताक्षर भएको थियो ।

Advertisement

Advertisement

Advertisement