विद्युत प्राधिकरण भन्छ– औद्योगिक क्षेत्रको लोडसेडिङ पूरै हट्यो

Advertisement

काठमाडौंः नेपाल विद्युत प्राधिकरणले औद्योगिक क्षेत्रको लोडडसेडिङ पूरै हटेको बताएको छ । प्राधिकरणले सोमबारबाट औद्योगिक क्षेत्रमा गर्दै आएको दैनिक तीन घण्टासम्मको लोडसेडिङ अन्त्य भएको घोषणा गरेको हो ।

गएको चैतमा उर्जा तथा जलस्रोत मन्त्री बर्षमान पुनले वैशाखभित्र उद्योगहरुलाई गर्दै आएको लोडसेडिङ हटाउन निर्देशन दिएका थिए । सोही निर्देशनका आधारमा औद्योगिक क्षेत्रको पनि लोडसेडिङ अन्त्यको घोषणा गरिएको प्राधिकरणले जनाएको छ ।

नदीहरुमा वृद्धि भएको पानीको वहावका कारण रन अफ रिभर आयोजनाबाट विद्युत उत्पादनमा भएको वृद्धि, अर्ध जलाशययुक्त आयोजनाको कुशलतापूर्वक सञ्चालन, कुलेखानी जलाशययुक्त आयोजनाको उपयोग, संरचनागत सुधार र अपुग भारतबाट आयात गरी लोडसेडिङ अन्त्य गरिएको भन्दै प्राधिकरणले अब औद्योगिक क्षेत्र पूर्णरुपमा लोडसेडिङमुक्त भएको जनाएको छ ।

औद्योगिक ग्राहकको माग तीन सय मेगावाटको हाराहारीमा रहेको छ । प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले मौजुदा प्रसारण तथा वितरण संरचनाको क्षमता र अवस्था, उत्पादन केन्द्र तथा प्रसारण÷बितरण प्रणालीमा आउनसक्ने प्राविधिक समस्या, मर्मत सम्भार एव विकास निर्माणका कारण समय समयमा हुन सक्ने विद्युत आपूर्तिको अवरोधलाई लोडसेडिङ नभनिदिन आग्रह गरे ।

उनी भन्छन, ‘बिहान र बेलुकाको पिक सयममा अधिकतम विद्युत खपत हुने विद्युतीय उपकरण प्रयोग नगरिदिन र अन्य समयमा पनि ऊर्जा कम खपत गर्ने (ऊर्जा दक्षता)उपकरण प्रयोग गरी ऊर्जा बचतमासहयोग गर्न उपभोक्तालाई आग्रह गर्दछु ।’

Advertisement

Advertisement

Advertisement