दरवाङ–ढोरपाटन सडकको अठार किमी ट्रयाक खुल्यो

Advertisement

बाबियाचौरः मध्यपहाडी लोकमार्गको विकल्प मानिएको म्याग्दीको सदरमुकाम बेनीदेखि ढोरपाटन जोड्ने दरवाङ–बिम–ताकम–मुना–लुलाङ–जलजला सडकको १८ किलोमिटर ट्रयाक खुलेको छ ।

सडक डिभिजन कार्यालय, बागलुङले एक दशकअघि ट्रयाक खुलेको २४ किलोमिटर दूरीको बेनी–दरवाङ सडक कालोपत्रेको काम सुरु गरेको छ भने जिल्ला समन्वय समितिले कृषि सडक आयोजनाअन्तर्गत दरवाङदेखि बिम—ताकम हुँदै मुनासम्मको ट्रयाक निर्माण भएको छ ।

विसं २०६७ मा दरवाङबाट सुरु भएको सडकको ट्रयाक निर्माणको काम बिम–ताकम हुँदै मुनासम्म पुर्याइएको आयोजनाका प्राविधिक कृष्ण रायले बताए । उनका अनुसार थप सात किलोमिटर विस्तार गरेपछि लुलाङ हुँदै ढोरपाटनको सिमाना जलजला पुग्नेछ । आठ वर्षको अवधिमा चार करोड ७५ लाख रुपियाँ लगानी भएको छ ।

जिल्ला समन्वय समितिले यस वर्ष विनियोजन गरेको ७२ लाख रुपियाँ र गत वर्षको ६० लाख रुपियाँ बजेटबाट मालिका गाउँपालिका–७ बिमको सिमानामा रहेको धौलागिरि गाउँपालिका–७ बगरदेखि ताकमसम्म पाँच किलोमिटर सडकको ट्रयाक खोल्ने काम सकिएको उपभोक्ता समितिका अध्यक्ष खुमनाथ सुवेदीले बताए ।

ताकमदेखि मुना र दरवाङदेखि साउँबोटसम्मको ट्रयाक खोल्ने काम यसअघिनै सकिएको धौलागिरि गाउँपालिका–७ का वडाध्यक्ष कलानिधि सुवेदीले बताए । जिल्ला समन्वय समितिले शिवरात्रीखोलासम्म पुर्याएको सडकलाई धौलागिरि गाउँपालिकाले यस वर्ष विनियोजन गरेको २५ लाख रुपियाँ बजेटबाट शिवरात्रीखोलाको पहाड फुटाउने काम सम्पन्न भएपछि दरवाङदेखि साउँबोटसम्म सिधा सवारी सञ्चालन हुन थालेको छ ।

शिवरात्रीखोलादेखि साउँबोटसम्म अपर म्याग्दी जलविद्युत् आयोजनाले तीन किलोमिटर सडक निर्माण गरेको छ । जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्र केसीले शिवरात्रीखोला तथा साउँबोट र बगरको सिमानामा पर्ने म्याग्दी नदीमा मोटरेबल पुल निर्माण गरेपछि बेनीदेखि मुनासम्म सिधा सडक सञ्जालमा जोडिने बताए ।

हाल दरवाङदेखि धारापानी, ताकम हुँदै मुना जोड्ने सडक प्रयोगमा छ । धौलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले पश्चिम म्याग्दीको आर्थिक, सामाजिक र भौतिक विकासमा महत्वपूर्ण सम्भावना बोकेको सडकलाई ढोरपाटनसम्म जोडेर मध्य पहाडी लोकमार्गको विकल्प बनाउने लक्ष्य रहेको बताए ।

बागलुङ बजारदेखि बुर्तिवाङ हुँदै ढोरपाटन जोड्ने सडक मध्य यो सडक करीब ५० किलोमिटर कम दूरीको हुने उपाध्यक्ष छन्त्यालले बताए । शिवरात्रीखोला र म्याग्दी खोलामा पक्की मोटरेबल पुल निर्माण गर्न प्राथमिकता दिइएको उपाध्यक्ष छन्त्यालले बताए ।

Advertisement

Advertisement

Advertisement