ब्रुमर खरिद प्रकरणले कामपामा तनाव, कार्यकारीले गाली गर्दै ज्ञानेन्द्रलाई कोठाबाट निकाले

Advertisement

काठमाडौंः ब्रुमर (रोड स्विपर) खरिदमा भएको अनियमितता प्रकरण चर्किएसँगै काठमाडौं महानगरपालिकाको कार्यालयमा तनाव बढेको छ ।

महानगरका कार्यकारी अधिकृत यादव कोइरालाले उच्च तहका एक कर्मचारी ज्ञानेन्द्र कार्कीलाई चेतावनीसहित कोठाबाटै बाहिर निकालेपछि ब्रुमर खरिद प्रकरण चर्किएको हो । कार्की महानगरपालिकाका प्रवक्ता पनि हुन् ।

ब्रुमर खरिदकै सिलसिलामा दिल्ली पुगेर आएका कार्कीले उक्त खरिद प्रक्रिया चाँडै टुङ्ग्याउनुपर्यो भन्दै यादवको कोठाभित्र छिरेपछि यादवले हपादै अबदेखि विना अनुमति मेरो कोठामा नछिर्न चेतावनीसहित कोठाबाट बाहिर निकाले थिए । एक साताअघि भएको यस घटनाले महानगरका कर्मचारीहरुबीच निकै चर्चासमेत बटुलेको छ ।

त्यसरी निकाल्दा यादवको कोठामा अन्य तीन–चार जना प्रत्यक्षदर्शी पनि थिए । एक प्रत्यक्षदर्शीले भने– हामीले को हो ? चिनेका थिएनौं । उहाँले ब्रुमरको कुरा गरेपछि यादव सरले गाली गरेर बाहिर निस्क भनेपछि उहाँ कालो निलो भएर निस्किनुभयो ।

काठमाडौं महानगरपालिकामले सडक सफा गर्न किन्न लागिएको पाँच ब्रुमरको ठेक्का प्रक्रियामा न्यूनतम बोलकबोल गर्ने बोलपत्रदातालाई ठेक्का नदिई एक करोड ७० लाख रुपियाँभन्दा बढि महंगो प्रस्ताव गर्ने तेस्रो नम्बरको बोलपत्रदातालाई ठेक्का दिने सबै तयारी गरेपछि विवादित भएको हो ।

ब्रुमरको विषयमा चाँडै निर्णय गर्नुपर्यो भन्न आएका कार्कीलाई यादवले ‘तपाईंविरुद्ध अख्तियारमा पनि उजुरी परेको छ । मसँग ब्रुमरको विषयमा बारम्बार मेरो कोठामा नआउनुस’ भन्दै हप्काएपछि कार्की कोठाबाट बाहिरिएका थिए ।

ब्रुमर खरिद अघि बढिरहेको बेला कार्कीसहितका केही कर्मचारी दिल्लीस्थित ठेकेदार कम्पनीका प्रतिनिधिलाई भेटेर आएको थापा पाएपछि उनीप्रति कोइराला सशंकित र आक्रोसित भएका हुन् । यस प्रकरणमा महागरपालिकाका मेयर विद्यासुन्दर शाक्य पनि मुछिएका छन् ।

विषयमा तेस्रो नम्बरको बोलपत्रदाताले आयात गर्ने भनिएको इटालियन ब्राण्ड डेलेभोको दिल्लीस्थित एजेन्ट कार्यालयका प्रतिनिधिलाई भेटेर आएका थिए । महानगरपालिकाले यसअघि पनि डेलेभो ब्राण्डकै ब्रुमरलाई लक्षित गरी दुई दुई पटक टेण्डर गरेकोमा दुवै रद्द गरेर अहिले तेस्रो पटक टेण्डर गरेको हो ।

कम फोहर हुने सडक, रंगशाला, ठूला सुपरमार्केट जस्ता स्थानहरुमा मात्रै प्रयोग हुने डेलोभो ब्राण्डका ब्रुमरहरु नेपाल जस्तो बढी धुलो हुने सडकमा अनुपयुक्त हुने थाहा हुँदाहुँदै कार्कीको समूह बदनियतपूर्ण तरिकाले सोही ब्रुमर जसरी पनि भित्राउन लागिपरेको स्वयम महानगरपालिकाका कर्मचारीले बताउँदै आएका छन् ।

Advertisement

Advertisement

Advertisement