‘ओली सरकारसँग उखान टुक्काबाहेक आर्थिक विकासको कुनै नीति र भिजन छैन भन्ने सिद्ध भयो’

Advertisement

कालिकोटः काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले केपी ओली सरकारले मुलुकको समृद्धिका लागि केही गर्ने लक्षण नदेखाएको बताएका छन् ।

कर्णाली प्रदेशमा काँग्रेस सुदृढिकरण अभियान लिएर कालिकोट आइपुगेका पौडेलले काँग्रेस कालिकोटको दोस्रो जिल्ला सम्मेलन उदघाटन गर्दै नेपाल भ्रमणमा आएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले खाली तिर्थाटन गरेर फर्कनुले ओली सरकारसँग आर्थिक संवृद्धिको भाषण मात्रै छ, कुनै नीति र भिजन छैन भन्ने स्पष्ट भएको बताए ।

उनले भने– ‘बिहानले दिन देखाउछ भनेझैं ओली सरकारले केही नगर्ने लक्षण देखाउन सुरु गरेको छ । मोदी खाली तिर्थाटन गरेर फर्कनुले पनि ओली सरकारसँग कुनै नीति र भिजन छैन भन्ने स्पष्ट देखाएको छ ।’

नेता पौडेलले विकास निर्माणका सबै पूर्वाधारहरु काँग्रेसको पालामा भएको बताउँदै थपे –‘कर्णालीलाई सडक सञ्जालमा जोड्ने नीति काँग्रेसले लिएको हो । पटक पटक कम्युनिष्ट नेतृत्वमा पनि विगतमा सरकार बने । तर ती कम्युनिष्ट सरकारले के गरे अहिले सम्म ? उनीहरु खोक्रा नारा दिएर जनता झुक्याउने काम मात्रै गर्दै आएका छन् ।’

वरिष्ठ नेता पौडेलले उर्जाको विकास, कृषि क्रान्ति र पर्यटनको विस्तार गरेर मात्रै कर्णालीको विकास र समृद्धि संभव हुने स्पष्ट पारे । उनले भने– ‘हाम्रो उद्देश्य भनेको गाँउमा विकास पुर्याएर गाँउमा नै रोजगारी र आम्दानी सिर्जना गर्ने हो । उखान टुक्का र हाँस्य व्यग्य गरेर मात्र विकास संभव छैन् ।’

नेता पौडेलले काँग्रेस पराजित भएपछि आफ्नो मनमा कर्णालीबाट पार्टी सु्दृढिकरण अभियान थाल्नुपर्छ भन्ने लागेको बताए । उनले भने– ‘कांग्रेस पराजित भएपछि मेरो मनमा काँग्रेसलाई सुदृढ बनाउनुपर्छ भन्ने लाग्यो । त्यही भएर मैले सुदृढिकरण थाल्ने निधो गरें । अनि मैले त्यो अभियान कर्णाली प्रदेशबाट गर्नुपर्छ भनेर लागेको हो । दुःख कष्ट र अभाव भएको ठाँउबाट काँग्रेस सुदृढिकरण अभियान थाल्नुपर्छ भन्ने मेरो मनमा आयो र मैले कर्णालीबाट पार्टी सु्दृढिकरण अभियान थाल्ने निधो गरें ।’

पौडेलले काँग्रेसको सिद्धान्तको विजय हुने तर काँग्रेस किन सधै पराजित हुने ? यो विषयमा हरेक तहमा समीक्षा जरुरी भएको बताए । उनले भने–‘कम्युनिष्टहरुले चुनावमा जित्ने भएको छ । हामीले चुनाव हारेको छौं । तर, राजनीतिक हारेका छैनौ । त्यसैले हामीले अब कमीकमजोरीलाई खोजी गर्न जरुरी छ । पुराना गल्ती कमजोरी हटाएर अब काँग्रेसलाई नयाँ जीवन दिन जरुरी छ । अबको चुनावमा काँग्रेसको जीत सुनिश्चित छ । उखान टुक्का र हाँस्य व्यग्य गरेर मात्र विकास संभव छैन् ।’

तर कांग्रेसले जनताको इच्छा र चाहनालाई बुझेर काम गर्नुपर्ने उनको भनाई छ । नेता पौडेलले अब काँग्रेसका हरेका कार्यकर्ता कर्मशील बन्न जरुरी छ ।’ पौडेलले कम्युनिष्टको अनुकुल नहुने कर्मचारी शिक्षकहरुलाई सरकारले पक्षपात गर्यो भने काँग्रेस सडकमा उत्रने चेतावनी दिए ।

Advertisement

Advertisement

Advertisement