उर्जामन्त्रीले युसिङसँग भने– जलविद्युतमा मात्रै होइन, सौर्य उर्जामा पनि चिनियाँ लगानी चाहियो

Advertisement

काठमाडौंः उर्जा, सिंचाइ तथा जलस्रोतमन्त्री वर्षमान पुनले जलविद्युतबाहेक सौर्य उर्जामा पनि सहयोग र लगानी गर्न नेपाल भ्रमणमा रहेका चीनको सिचुवान प्रान्तका उपगर्भनर पेङ युसिङसँग आग्रह गरेका छन् ।

सिंहदरबारस्थित उर्जामन्त्रालयमा बिहीवार भएको भेटवार्तामा पुनले नेपाल सरकारले पाँच बर्षमा पाँच हजार र १० बर्षमा १५ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य लिएको भन्दै त्यसमा चिनिया सहयोग र लगानी दुवै जरुरी रहेको बताए ।

मन्त्री पुनले नेपालमा लगानीको वातावरण बन्दै गएको भन्दै चिनिया लगानीकर्तालाई नेपालमा थप लगानी गर्ने वातावरण बनाईदिन आग्रह समेत गरे । पछिल्लो समयमा जलविद्युत क्षेत्रमा चिनियाँ लगानी थपिने क्रम बढेर गएको छ ।

पुनले चीनसँग नेपालले गत वर्ष नै विआरआइमा हस्ताक्षर गरिसकेको उल्लेख गर्दै भने ‘हामी चीनले गरेको विकास र समृद्धिबाट लाभ लिन चाहन्छौ । विआरआईअन्तर्गत पनि कैयौ परियोजनामा हाम्रो सहकार्य हुदैंछ । यसले पनि आगामी दिनमा हाम्रो सम्बन्ध मजवुत बन्नेछ ।

उपगभर्नर युसिङले चीनमा सिचुवान प्रान्त उर्जाको क्षेत्रमा निकै धनी रहेको भन्दै नेपालसँग सहकार्य गर्न इच्छुक रहेको बताए । उनले उर्जा क्षेत्रका साथै सडक निर्माणको क्षेत्रमा समेत सहकार्य गर्न तयार रहेको बताए ।

युसिङ, ‘हामी उर्जा र जलविद्युतका साथै निर्माण र पुर्ननिर्माणको क्षेत्रमा काम गर्न इच्छुक छौं । त्यसका लागि सिचुवान प्रान्तको एउटा कम्पनीले समेत भर्खरै नेपालमा सरकारको लगानी रहेको कम्पनीसँग सहकार्य सुरु गरेको छ ।

उनले सिचुवानमा व्यापार र अध्ययनका लागि थुप्रै नेपालीहरु रहेको भन्दै सिचुवानमा बाणिज्य दुतावास खोल्न नेपाल सरकारसँथ आग्रह पनि गरे । जवाफमा मन्त्री पुनले सिचुवानसँग व्यापार र शिक्षाको साथै हवाई कनेक्टिभीटीले समेत निकटता बढेको भन्दै आगामी दिनमा समेत सहकार्य गर्नुपर्ने बताए ।

उर्जामन्त्री पुन र चिनियाँ राजदूतबीच भेट
उर्जामन्त्री पुन र चिनिया राजदूत यु होङबीच पनि सिंहदरवारस्थित उर्जामन्त्रालयमा भेटवार्ता भएको छ । राजदूत होङले माओवादी केन्द्र र एमालेबीच पार्टी एकीकरण हुन लागेको समाचार सुनेको भन्दै त्यसबाट नेपालको विकास र स्थायीत्वमा सहयोग पुग्ने अपेक्षा राखेको बताइन । होङले उर्जा र जलविद्युतको क्षेत्रमा सहकार्य गर्न चीन सरकार इच्छुक बताइन ।

Advertisement

Advertisement

Advertisement