‘अर्काले देला कि भनेर बजेटको आकार ठूलो बनाउन हुन्न, १५ खर्बको बजेट ल्याए पुग्छ’

Advertisement

काठमाडौंः राष्ट्रिय पूर्ननिर्माण प्राधिकरणका कार्यकारी प्रमुख (सिइओ) युवराज भुषालले भूकम्प पीडितको लागि काम गर्नको लागि आगामी वर्षको बजेटमा प्राधिकरणलाई थप डेढ खर्ब बजेट आवश्यक रहेकोले सोही बमोजिम विनियोजन गर्न सरकारसँग माग गरेका छन् ।

बिहीबार रिपोर्टर्स क्लबमा पूर्वअर्थसचिवसमेत रहेका भुषालले भने, ‘आगामी वर्षको बजेटमा प्राधिकरणलाई कम्तिमा डेढ खर्ब बजेट विनियोजन हुनुपर्छ । निजी आवासको पुर्ननिर्माण गर्नुपर्छ । जोखिमयुक्त वस्ती स्थानान्तरण गर्नुपर्नेछ ।’ उनले बजेट वितरणमुखी बनाउन नहुने भन्दै आगामी बजेट उत्पादनमुखी, रोजगारमुखी र सीपमूलक बनाउनतिर जोड दिनुपर्ने बताए ।

उनले पछिल्लो समय मुलुकमा अनौपचारिक अर्थतन्त्र मौलाएकोले बजेट ल्याउँदा रियलिष्टिक भएर ल्याउनुपर्ने पनि बताए । बजेटमा नयाँ–नयाँ कार्यक्रम ल्याउनुभन्दा पनि भएका कार्यक्रम र परियोजनाहरुलाई सम्पन्न गर्नेगरि अगाडि बढ्न सरकारलाई उनको सुझाव छ ।

चालु आर्थिक वर्ष सकिन अब दुई महिनामात्रै बाँकी रहेकोले अहिलेसम्म पुँजीगत खर्च आधा बाँकी नै रहेको सुनाउँदै भुषालले भने, ‘अहिलेको सरकार दुई तिहाईभन्दा बढिको सरकार हो । सरकार पाँच वर्षको लागि स्थायी प्रकृतिको छ । सोही अनुसार वस्तुनिष्ठ भएर बजेट ल्याउनुपर्छ ।’

उनले संघीयता कार्यान्वयनको चरणमा सरकार अघि बढ्नुपर्ने भएकोले स्थानीय तहलाई रकम मात्रै दिएर नहुने बरु स्थानीय तहलाई क्षमता विकास गराउनतिर लाग्नुपर्ने सुझाव दिए । भुषालले भने, ‘स्थानीय तहमा जाने कार्यक्रमहरुको कार्यान्वयनको जिम्मा स्थानीय तहलाई नै दिनुपर्छ ।’ त्यस्तै, उनले आर्थिक अनुशासन कायम गर्दै आफूले जति गर्न सक्ने हो, त्यति नै गर्नेगरि बजेट ल्याउन सुझाए ।

भुषालले १५ खर्बभन्दा बढिको बजेट ल्याउन नहुने पनि धारणा राखे । उनले भने, ‘बाहिरबाट सहयोग, अनुदान वा ऋण आउँछ कि भनेर भर पर्नुहुँदैन्, हामीले नेपालको वस्तुनिष्ठ भएर बजेट ल्याउनुपर्छ ।’

सरकारले निजी क्षेत्रलाई प्रर्वद्धन गर्नेगरि बजेट ल्याउनुपर्ने पनि भुषालको भनाई छ । उनले भने, ‘सरकारले सहजकर्ता, नियमनकर्ता र व्यवस्थापकको काम गर्नुपर्छ ।’ बजेट ल्याउँदा कृषि क्षेत्रलाई विशेष ध्यान दिन सरकारलाई उनको सुझाव छ ।

बजेट कार्यान्वयनको लागि सरकारले कार्यान्वयनको योजना र कार्यक्रमहरु बनाउनुपर्ने पनि भुषालले बताए । उनले भने, ‘हाम्रो केन्द्रिय अनुगमन फितलो भयो । औपचारिकतामा मात्रै सीमित हुन भएन । सिंहदरबारभित्र अहिले गाडीहरु उपयोगविहीन भएर बसेका छन् । फर्निचरहरु प्रयोगविहीन छन् । त्यसलाई मर्मतसम्भार गरेर चलाउन सकिन्छ नि ।’

Advertisement

Advertisement

Advertisement