एक रुपैयाँ किलोमा पनि बिकेन गोलभेँडा

Advertisement

कञ्चनपुरः ऋण लगानी गरेर लगाइएको गोलभेँडाले बजार नपाएपछि शुक्लाफाँटा नगरपालिका–३ का किसानले घाटा व्यहोरेका छन् ।

ऋण लगानी गरेर लगाइएको गोलभेँडा बजारमा एक रुपियाँ प्रतिकिलोका दरले बिक्री हुन नसक्दा किसानले घाटा व्यहोरेका हुन् । ५० हजार रुपियाँ ऋण गरेर गोलभेँडा रोपेका भरतबहादुर चौधरी १० हजार रुपियाँको मात्रै गोलभेँडा बिक्री भएको बताउछन् ।

“एक रुपैयाँमा बिक्री गर्न खोज्दासमेत बिक्री भएन,” उनले भने । गोलभेँडा खेतमा लटरम्म फलेको छ । खेतमै कुहिने अवस्था छ । आफ्नो खेतमा एक लाख रुपियाँभन्दा बढीको गोलभेँडा कुहिएको चौधरीले बताए ।

गोलभेँडा खेतीका लागि सहकारीबाट लिएको ऋण तिर्न अन्यत्रबाट व्यवस्था गर्नु परेको उनको भनाइ छ ।

गोलभेँडाले बजार नपाएपछि वसन्ती चौधरी मारमा परेका छन् । गतवर्ष गोलभेँडा खेतीबाट तीन लाख रुपियाँभन्दा बढी आम्दानी गरेका चौधरी यसवर्ष मुश्किलले ३० हजार रुपियाँ मात्रै कमाई भएको बताउछन् । उनको दुई लाख रुपियाँभन्दा बढीको गोलभेँडा खेतमै कुहिएको छ ।

यहाँका किसानले लगाएको गोलभेँडा बिक्री नहुँदा पाँच लाख रुपियाँभन्दा बढीको घाटा भएको छ । शुक्लाफाँटा नगरपालिका–३ का वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरी किसानलाई बजारको समस्या भएको बताए ।

“तरकारी पर्याप्त मात्रामा उत्पादन भएको छ, बजार पाउन सकेको छैन,” उनले भने । भारतबाट आयात गरिने गोलभेँडाका कारण यहाँका किसानले वर्षेनी घाटा व्यहोर्नु परको छ ।

Advertisement

Advertisement

Advertisement