चीनबाट ४३ अर्बको लगानी प्रतिवद्धता आउँदा भारतबाट जम्मा चार अर्ब

Advertisement

काठमाडौंः चालु आर्थिक वर्षको वैशाखसम्ममा ४१ देशहरुबाट २६२ परियोजनाका लागि ४९ अर्ब नौ करोड ६६ लाख रुपियाँको प्रत्यक्ष वैदेशिक लगानीको प्रतिवद्धता आएको छ । उद्योग विभागको पछिल्लो तथ्यांकअनुसार यस्ता लगानीको प्रतिवद्धता गर्नेमा सबैभन्दा अगाडि चीन छ ।

यस अवधिमा चीनको मात्रै ४३ अर्ब एक करोड रुपियाँको प्रतिवद्धता आएको छ । चीनले विभिन्न ९४ परियोजनाका लागि उक्त लगानीको प्रतिवद्धता जनाएको हो । त्यसपछि धेरै लगानीको प्रतिवद्धता जनाउनेमा भारत रहेको छ । तर, त्यो चीनको तुलनामा निकै कम छ । विभिन्न ३९ परियोजनामा भारतको चार अर्ब रुपियाँको लगानीको प्रतिवद्धता आएको छ ।

पछिल्लो सात महिनामा मात्रै ३८ करोड रुपियाँको लगानीको प्रतिवद्धतालाई विभागले स्वीकृत गरेको छ । संविधान निर्माण, बहुमतको सरकार निर्माणसँगै नेपालमा राजनीतिक र नीतिगत स्थिरता आउने देखिएसँगै लगानीको प्रतिवद्धता बढेको अनुमान गरिएको छ । वामपन्थी सरकार गठन भएसँगै चिनियाँ लगानी ह्वात्तै बढेको हुनसक्ने विश्लेषकहरुको भनाई छ ।

नयाँ बर्ष २०७५ लागेपछि मात्रै भण्डै १६ अर्ब रुपियाँको लगानीको प्रतिवद्धतालाई विभागले स्वीकृत गरेको छ भने गएको तीन महिनामा १८ मुलुकबाट ३८ अर्ब ६७ करोड रुपियाँको प्रतिवद्धता आएको छ ।

विगत पाँच बर्षको तथ्याङ हेर्दा आर्थिक बर्ष २०७१–७२ मा सबैभन्दा बढि ६७ करोड रुपियाँको प्रतिवद्धता आएकोमा पछिल्लो समयमा बढेको लगानीले यस बर्ष नयाँ रेकर्ड बन्नसक्ने संभावना देखिन्छ ।

लगानीको प्रतिवद्धता भए पनि नभित्रिएसम्म त्यसको सुनिश्चितता हुँदैन । लगानी भित्राउन र मुनाफा लैजाने नेपाल राष्ट्र बैंकको स्वीकृति लिनुपर्ने हुन्छ ।

Advertisement

Advertisement

Advertisement