व्यवसायसँगै समाज सेवा गर्न रुची राख्ने माहेश्वरी समुदायको अन्तर्राष्ट्रिय सम्मेलन सुरु

Advertisement

काठमाडौंः मारवाडी समुदायअन्तर्गतकै माहेश्वरी समुदायको वृहत अन्तर्राष्ट्रिय सम्मेलन शनिबारबाट सुरु भएको छ । अखिल भारतबर्षीय माहेश्वरी महासभाको पाँचौं कार्यसमिति बैठक तथा माहेश्वरी अन्तर्राष्ट्रिय समागको उदघाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गरे ।

विशेषगरी उद्योग व्यापार गर्ने तर सामाजिक कार्यहरुमा उल्लेखनीय योगदान दिने माहेश्वरी समाज विश्वभर करिव दुई लाखको संख्यामा मात्रै भए पनि आफ्नो छुटै पहिचान र संस्कृति निर्माण गर्न सफल छ । नेपालमा करिव सयबर्ष अघिदेखि बसोबास गर्दै आएको यो समुदायले प्रकृतिक विपत्तिदेखि अन्य सामाजिक सेवाका कामहरुमा आफ्नो सञ्जाल एवं सदस्यहरुलाई परिचालन गर्दै आएको छ ।

महासभामा नेपाल, भारतसहित अन्य मुलुकबाट माहेश्वरी समुदायका अगुवाहरु सहभागी छन् । दुई दिनसम्म चल्ने यससभाले आगामी तीन बर्षका लागि कार्यनीति बनाउने छ ।

मारवाडी समुदायलाई थप लगानी बढाउन पुनको आग्रह
उपराष्ट्रपति पुनले नेपालमा लगानीको बाताबरण बनेको भन्दै थप लगानी बढाउन आग्रह गरे । उनले नेपाल लगानीको लागि कन्या भूमि भएको भन्दै सबै क्षेत्रले लगानी कुरेर बसेको बताए ।

पुनले नेपालको आर्थिक विकासमा मारवाडी समुदायको महत्वपूर्ण योगदान रहेको भन्दै माहेश्वरी समुदाय सानो भए पनि योगदान ठूलो रहेको बताए । नेपालमा सबै समुदायको आआफ्नै पहिचान रहेको उनले बताए ।

कार्यक्रममा सहभागी भारतीय राजदूत मञ्जिवसिंह पुरीलाई फुक्र्याउँदै पुनले सरदार समुदायको इमान्दारिता र मेहनत पनि प्रसंशा गर्न लायक रहेको बताए ।

भारतीय राजदूत पुरीले नेपाल भारतबीचको सम्वन्ध धर्म, संस्कृति, अर्थतन्त्रसँग जोडिएको भन्दै तर अब आर्थिक सम्वन्धलाई बढाउन हामीले ध्यान दिनुपर्छ भने । उनले भारत नेपालको विकासका लागि सबै सहयोग गर्न तयार रहेको बताए । पुरीले भने– भारत नेपालको विकासको लागि सबै खालको सहयोग गर्न तयार छ । तर, तपाईंहरुको सहभागितामा मात्रै नेपालको आर्थिक विकासमा योगदान सफल हुन्छ ।

उनले दुई देशको सम्वन्ध रोटीवेटी भन्दा पनि आर्थिकरुपमा बढि जोगिएको र त्यसलाई बढावा दिनुपर्ने बताए । पुरीले कनेक्टिभिटीमार्फत नेपाल र भारतको आर्थिक सम्वन्धलाई मजबुत पार्न सकिने बताए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोहीको हालैको नेपाल भ्रमणको स्मरण गर्दैै मोदीले नेपालको विकासलाई उच्च प्राथमिकता दिएको बताए ।

मारवाडी सेवा परिषदका अध्यक्ष पवन मित्तलले मारवाडी समुदाय नेपालमा आएको दुईसय बर्ष भइसकेको भन्दै यो समुदायको गौरवशाली इतिहास रहेको बताए । उनले नेपालको विकास र अर्थतन्त्रमा मारवाडी समुदायको ठूलो योगदान रहेको बताए ।

अखिल भारतबर्षीय माहेश्वरी महासभाका सभापति श्यामसुन्दर सोनीले विश्वमा समाजसेवाका सबैभन्दा धेरै योगदान दिने कुनै समुदाय छ भने त्यो माहेश्वरी समुदाय हो भने । संख्यात्मक हिसावले आफूहरु थोरै भए पनि हरेक ठाउँमा उपस्थिति रहेको बताए ।

कार्यक्रममा नेपाल माहेश्वरी परिषद नेपाल च्याप्टरका अध्यक्ष जयकृष्ण सारडा, माहेश्वरी सदन ट्रष्ट बोर्डका अध्यक्ष नन्दकिशोर मुन्दडा, माहेश्वरी समाज काठमाडौंका अध्यक्ष कैलाशचन्द्र मुन्दडा, अखिल भारतबर्षीय माहेश्वरी महासभाका महामन्त्री संजिव काबराले बोलेका थिए ।

Advertisement

Advertisement

Advertisement