गोरखापत्रको जिएमसहित आठ जनाले सञ्चार सहकारीको १२ लाख ऋण तिरेनन्, जेठभित्र तिर्न अल्टिमेटम

Advertisement

काठमाडौंः सञ्चार बचत तथा ऋण सहकारी संस्थाले लाखौं रुपियाँ ऋण लिएर बर्षौसम्म ऋण नतिर्ने गोरखापत्र संस्थान महाप्रवन्धक वसन्तप्रकाश उपाध्यायसहित आठ जनालाई तत्काल ऋणको सावाँ, ब्याज र हर्जना चुक्ता गर्न संस्थाले अल्टिमेटम दिएको छ ।

पत्रकारहरुको आर्थिक हितका लागि खोलिएको सो संस्थाले शनिबार विशेष साधारणसभा गरेर उपाध्यायसहित आठै जनालाई ऋण अशुलउपर गर्न कानुनी प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । सहकारीको संशोधित कानुनअनुसार त्यस्ता संस्थाको ऋण नतिर्नेहरुलाई बैंकिङ कसुरमा कारवाही हुनसक्छ ।

संस्थाको विशेष साधारणसभाले ऋण लिएदेखि नै एक रुपियाँ साँवा ब्याज नतिर्ने आठ जना काला ऋणीहरुबाट ऋण अशुलउपर गर्ने भन्दै त्यसका लागि जेठ मसान्तसम्मको समय दिएको छ ।

सबैभन्दा बढि तीन लाख रुपियाँ ऋण लिनेमा टाइम कट्टेल छन भने गोरखापत्रका जिए उपाध्यायले दुई लाख रुपियाँ लिएका थिए । उपाध्यायले यस्ता थुप्रै व्यक्ति र संस्थाहरुबाट ऋण तथा सापटी लिएर नतिरेका समाचारहरु यसअघि पनि बेला बेलामा आउने गरेका छन् ।

त्यस्तै, टेलिभिजनकर्मी केदार कोइराला, तत्कालिन समयमा हिमालय टाइम्समा काम गर्ने सुरेन्द्र सुवेदी, विमर्स साप्ताहिकमा काम गर्ने प्रवल भट्टराई, खोटाङका कान्तिपुरका समाचारदाता डम्बर सिंह राई र अन्य दुई जनाको नाममा संस्थामा कुल १२ लाख रुपियाँ खराब कर्जा रहेको छ ।

झण्डै दुई सय श्रमजीवी पत्रकारहरुको लगानी रहेको यस संस्थाले ऋण तिर्न आउन पटक पटक लिखित तथा मौखिकरुपमा आग्रह गर्दा पनि उनीहरुले खटेर गर्दै आएको संस्थाका एक सदस्यले बताए ।

संस्थाले जारी गरेको विज्ञप्तिमाअनुसार काला ऋणीहरुबाट रकम अशुल गर्न पत्रकार शिवलाल न्यौपानेको अध्यक्षतामा पाँच सदस्यीय ऋण असुली उपसमिति गठन गरिएको छ । समितिको सदस्यमा लिलाराज खनाल, ज्ञानीप्रसाद अधिकारी, अधिवक्ता बाबुराम अर्याल, सदस्य सचिवमा अनामिका गिरी छन् ।

देशभर छरिएर रहेका पत्रकारकहरुको गर्जो र खाँचो टार्ने उद्देश्यले नौ बर्षअघि पत्रकार महासंघका पूर्व अध्यक्ष बिष्णु निष्ठुरीको संयोजकत्वमा सो संस्था स्थापना गरिएको थियो ।

Advertisement

Advertisement

Advertisement