निर्माणकार्य ढिलो भएपछि उर्जामन्त्रीले पठाए प्राधिकरण टोलीलाई सोलु करिडोरको अनुगमनमा

Advertisement

काठमाडौंः सोलु करिडोर प्रसारणलनइन निर्माण ढिलो भएर उत्पादित विजुली खेर जाने अवस्था सिर्जना भएपछि उर्जामन्त्री बर्षमान पुनले विद्युत प्राधिकरणको टोलीलाई उक्त आयोजनाको अनुगमन गर्न पठाएका छन् । प्राधिकरणको टोलीले तीन दिन लगाएर आयोजनाको अनुगमन गरेको छ ।

एकसय ३२ केभी क्षमताको सोलु करिडोर प्रसारणलाइनका साथै सोलुखुम्बुको तिलामा निर्माणाधीन १३२/३३/११ केभी सव–स्टेसनको निर्माणकार्य ढिलो हुँदा सोलु खोलामा निर्माण सम्पन्न भइसकेका आयोजनाहरुको विद्युत खेर जाने अवस्था सिर्जना भएपछि पुनले प्राधिकरणको टोलीलाई अनुगमनमा पठाएका हुन ।

सोलु खोलामा निजी क्षेत्रका २१७.५ मेगावाटका छ जलविद्युत आयोजना निर्माण भइरहेका छन् । त्यसमध्ये ८२ मेगावाटको तल्लो सोलु र २३.५ मेगावाटको माथिल्लो सोलु आयोजनाको निर्माण सम्पन्न भई प्रसारणलाइनको प्रतिक्षामा छन् । प्रसारणलाइनमा विद्युत जोड्न नसकेमा प्राधिकरणले ४५ प्रतिशत हर्जाना (पेनाल्टी) तिर्नुपर्ने व्यवस्था विद्युत खरिद सम्झौता (पीपीए)मा छ ।

प्राधिकरणको टोलीले आयोजना व्यवस्थापन, ठेकेदार र परामर्शदाता कम्पनीलाई काम चाँडै सक्न निर्देशन दिएको छ । टोली संयोजक प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने, ‘यदि प्रसारणलाइन तथा सवस्टेसन तोकिएको समयमा बनाउन नसकेर विद्युत खेर जाने अवस्था भए प्राधिकरणले निजी आयोजनालाई तिर्नुपर्ने पेनाल्टी ठेकेदारबाट असुल गर्नेछ ।’

ठेकेदारले प्रसारणलाइनमा पर्ने वन क्षेत्रको जग्गा प्रयोग र रुख कटानमा देखिएको समस्या देखाउँदै निर्माणकार्यमा ढिलाई गर्दै आएको छ । सरकार र प्राधिकरणको लगानी तथा भारतीय एक्जिम बैकको सहुलीयतपूर्ण ऋणमा निर्माण भइरहेको यस आयोजना सन् २०१९ को मार्चमा सक्ने लक्ष्य राखिएको छ ।

तिंला–ओखलढुंगा–उदयपुर–मिर्चैया (सिराहा) ९० किलोमिटर प्रसारणलाइन आयोजनाले ३०३ टार निर्माण गर्नुपर्छ । त्यसमध्ये हालसम्म ५० टावरको जग हालिएको छ भने पाँचवटा खडा गरिएको छ । ठेकेदार कम्पनी मोहन इनर्जीले डिसेम्बर २०१८ भित्रमा तिलामा सबस्टेसन बनाइसक्ने प्रतिबद्धता जनाएको छ ।

अहिले सवस्टेसन निर्माणमा ४२ जना मात्रै श्रमिक खटिएकोमा एक हप्ताभित्रमा श्रमिक संख्या थप गर्ने ठेकेदार कम्पनीको प्रतिबद्धता छ । ठेकेदार छनोटमा भएको विवादका कारण आयोजना झण्डै दुई वर्ष ढिला सुरु भएको थियो ।

साथै, टोलीले तल्लो सोलु र माथिल्लो सोलु आयोजनाको पनि निरीक्षण गरेको थियो । तल्लो सोलुको समग्र निर्माण प्रगति करिव ५० र ८५ प्रतिशत रहेको आयोजनाहरुले जनाएका छन् ।

प्राधिकरणले सोलु करिडोर निर्माणमा केही ढिलाई हुने देखेपछि माथिल्लो सोलुको विद्युत जोड्नका लागि अस्थायी वैकल्पिक व्यवस्थाकारुपमा ओखलढुंगाबाट ३३ केभी प्रसारणलाइन निर्माण र तिंलामा ३३÷११ केभीको सवस्टेसन बनाइरहेको छ । यसको काम छ महिनाभित्रमा सकिने प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताएका छन् ।

कुल २३ दशमलव ५ मेगावाटको सोलु आयोजनाले डिसेम्बरभित्र विद्युत उत्पादन गर्ने बताइए पनि निरीक्षणबाट आयोजनालाई काम सक्क अझै झण्डै एक वर्ष लाग्ने देखिएको टोलीले जनाएको छ । विद्युत गृह तयार भए पनि इलेक्ट्रोमेकानिकल उपकरण अझै आयोजनास्थलमा पुर्याइएको छैन । स्विजयार्ड र करिव चार किलोमिटर प्रसारण लाइनको निर्माण आयोजनाले अझै सुरु गरेको छैन ।

Advertisement

Advertisement

Advertisement